कोशीमा कांग्रेसको निर्णायक चाल, मन्त्री फिर्ता बोलाउने तयारी

Breaking Nepal

बिहीबार ,असार ३२ , २०८३ १३:४१

विराटनगर / केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रत्यक्ष प्रभाव कोशी प्रदेश सरकारमा देखिन थालेको छ। नेकपा (एमाले) नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशस्तरीय संयन्त्र (कार्यदल) को बैठक बिहीबार विराटनगरमा सुरु भएको छ। प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा एमालेसँगको सहकार्य अन्त्य गर्ने केन्द्रको निर्णयअनुसार प्रदेश सरकारमा पार्टीको सहभागिताबारे अन्तिम निर्णय लिने एजेन्डामा छलफल भइरहेको छ ।

बैठकमा संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा तथा सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत सहभागी छन्।

पार्टी स्रोतका अनुसार बैठकले कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने सम्भावना बलियो छ। केन्द्रले प्रदेश सरकारबाट समेत बाहिरिन स्पष्ट निर्देशन दिएपछि त्यसको कार्यान्वयनका लागि प्रदेश तहमा छलफल अघि बढाइएको हो ।

हाल हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।

यद्यपि, संयन्त्रका सदस्यसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनुवार बैठकमा अनुपस्थित छन्। उनले बैठकमा सहभागी नहुने जानकारी दिएको स्रोतले जनाएको छ । कांग्रेसभित्र केन्द्रको निर्देशन कार्यान्वयनबारे केही मन्त्रीहरूको फरक धारणा रहेको चर्चा पनि भइरहेको छ ।

यदि बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेमा कोशी प्रदेश सरकारको वर्तमान सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आउनेछ । त्यसपछि सरकारको बहुमत, नयाँ राजनीतिक गठबन्धनको सम्भावना तथा आगामी रणनीतिबारे प्रदेश राजनीतिमा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ ।