आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ ०८:०२

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शुक्रबार) पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी पहाडी र हिमाली भू–भागका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले देशभर मनसुनी प्रभाव कायम छ। हाल हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानदेखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनीका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णालीका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रातिको समयमा पनि देशभर बदली रहने र अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।