Breaking Nepal

झापा / भारतबाट नेपालतर्फ आउँदै गर्दा दुई महिनाको शिशुको डायपरभित्र ब्राउन सुगर (खैरो हेरोइन) लुकाएर ल्याउने प्रयास गरेको आरोपमा दम्पतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा नियमित चेकजाँचका क्रममा भारतबाट आएको अटो रोकेर जाँच गर्दा लागुऔषध फेला परेको हो।
पक्राउ पर्नेमा अटो चालक ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, उनीहरूका दुई महिनाका छोरा सोहेल आलम र अटोमा सवार ३८ वर्षीय मोहमद तजरुल रहेका छन्।
प्रहरीका अनुसार शिशुले लगाएको डायपरभित्र प्लास्टिकमा प्याक गरेर लुकाइएको अवस्थामा ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
घटनापछि प्रहरीले अटोसहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।