झापामा रास्वपा सांसदहरू गाउँमै, नागरिकका समस्या सुन्दै समाधानमा सक्रिय

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ ०८:२०

झापा । झापाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू यतिबेला गाउँ–बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या बुझ्न र समाधानका लागि पहल गर्न सक्रिय देखिएका छन्।

झापा–२ की प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख इन्दिरा रानामगरले पछिल्लो एक सातादेखि निर्वाचन क्षेत्रमा निरन्तर भेटघाट गर्दै स्थानीयका गुनासा, सुझाव र आवश्यकताबारे जानकारी लिइरहेकी छन्। उनले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्या लगायतका विषयमा नागरिकसँग छलफल गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर समाधानको प्रयास भइरहेको बताएकी छन्।

रानामगरले बुद्ध शान्ति गाउँपालिका का विभिन्न वडामा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै भागीरथा अस्पताल, विभिन्न सडक तथा पूर्वाधार आयोजनाको अनुगमनसमेत गरिन्। उनका अनुसार कृषि थोक बजार व्यवस्थापन, मल–बीउको अभाव, हात्तीको आतङ्क र पूर्वाधार विकासका विषयमा नागरिकले बढी गुनासा गरेका छन्।

यसैक्रममा उनी अर्जुनधारा नगरपालिकामा आयोजित भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्यक्रममा सहभागी भइन्। कार्यक्रममा उनले भूमिको अधिकार नागरिकको सुरक्षित र सम्मानजनक जीवनका लागि आधारभूत आवश्यकता भएको उल्लेख गर्दै लाभग्राहीलाई बधाई दिइन्।

रानामगरले जनप्रतिनिधिको भूमिका संसद्मा नीति निर्माणमा मात्रै सीमित नरही नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि भएको बताइन्। यस्ता प्रत्यक्ष संवादलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ।

झापामा इन्दिरा रानामगर मात्र होइन, रास्वपाका अन्य सांसदहरू पनि निर्वाचन क्षेत्रमा सक्रिय छन्। झापा–१ की सांसद निशा डाँगी, झापा–३ का सांसद प्रकाश पाठक र झापा–४ का सांसद शम्भु सुस्केरा पनि गाउँ–बस्ती पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। पाँचमध्ये झापा–५ बाट निर्वाचित सांसद वालेन्द्र शाह भने हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।