खेतीयोग्य जमिन घट्दा झापाको खाद्यान्न उत्पादन ९० हजार मेट्रिक टनले खुम्चियो

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ १२:४०

झापा। खेतीयोग्य जमिन निरन्तर संकुचित हुँदै जाँदा झापामा खाद्यान्न उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ९० हजार ७७५ मेट्रिक टनले कम हो।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा जिल्लाभर एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खाद्यान्न खेती गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टर क्षेत्रफलमा खेती हुँदा आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो।

एक वर्षको अवधिमै खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको देखिएको छ। कृषि ज्ञान केन्द्रले खेतीयोग्य जमिन घट्दै जानु नै उत्पादनमा आएको गिरावटको प्रमुख कारण भएको जनाएको छ।

गत आर्थिक वर्षमा वर्षे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ उत्पादन गरिएको थियो। तीमध्ये वर्षे धानको उत्पादन तीन लाख ७७ हजार ५३४ दशमलव ३५ मेट्रिक टन, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८ मेट्रिक टन तथा चैते धान ८९ हजार ६५५ दशमलव ३० मेट्रिक टन रहेको छ।

त्यसैगरी फापर तीन हजार ७५८ दशमलव ७० मेट्रिक टन, गहुँ छ हजार ४१९ मेट्रिक टन, कोदो ८६९ दशमलव ४७ मेट्रिक टन र जौ आठ दशमलव १० मेट्रिक टन उत्पादन भएको केन्द्रको विवरणमा उल्लेख छ।

कृषि क्षेत्रसँग सम्बन्धित जानकारहरूका अनुसार कृषि जमिनको गैरकृषि प्रयोजनमा रूपान्तरण, सहरीकरणको विस्तार तथा खेतीप्रति आकर्षण घट्दै जानुले उत्पादनमा दीर्घकालीन दबाब सिर्जना गरिरहेको छ। उत्पादन वृद्धि र खाद्य सुरक्षालाई सुनिश्चित गर्न खेतीयोग्य जमिन संरक्षण, आधुनिक प्रविधिको विस्तार तथा उत्पादकत्व वृद्धि गर्ने नीतिमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।