एकैदिन सुनको मूल्य ५ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ १२:४५

काठमाडौं। लगातार उच्च विन्दुमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार स्थानीय बजारमा उल्लेख्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिसँगै स्थानीय बजारमा पनि करेक्सन देखिँदा सुन प्रतितोला ५ हजार ८०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन बिहीबार यही सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबारको तुलनामा प्रतितोला १५५ रुपैयाँले घटेर शुक्रबार चार हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ र चाँदी चार हजार ४८० रुपैयाँ थियो। मंगलबार सुन दुई लाख ८५ हजार ६०० रुपैयाँ तथा चाँदी चार हजार ३७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव जारी छ। पछिल्लो विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार ४५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

सुनचाँदीको स्थानीय मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर तथा बजार अवस्थालाई आधार मानिने भएकाले विश्व बजारको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिने गरेको छ।