Breaking Nepal

रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा कालो मसी प्रहार भएको छ। घटना बिहीबार राति गढीमाई नगरपालिका–७ पर्सामा आयोजित जनभेट कार्यक्रम सकेर फर्किने क्रममा भएको हो।
रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित पौडेल कार्यक्रमस्थलबाट बाहिरिने क्रममा एक अपरिचित व्यक्ति नजिकिएर अँगालो हाल्ने प्रयास गरेको र त्यसलगत्तै कालो मसी प्रहार गरी घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनापछि सांसदका सहयोगी र स्थानीयवासीले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि उनी पक्राउ पर्न सकेनन्। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार सांसद पौडेलमाथि कालोमोसो नभई कालो मसी प्रहार भएको हो। घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छन्।
प्रहरीका अनुसार घटनाको कारण र आक्रमणकारीको उद्देश्यबारे अनुसन्धान जारी छ। हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन।