Breaking Nepal

काठमाडौं– आषाढ शुक्ल एकादशीका अवसरमा शनिबार देशभर हरिशयनी एकादशी मनाइँदै छ। यसै दिनदेखि घर–घरका तुलसी मठमा तुलसीको बिरुवा सार्ने परम्परा सुरु हुने भएकाले वैदिक सनातन संस्कृतिमा यसको विशेष धार्मिक महत्व रहेको मानिन्छ।
परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा एक महिनापछि हरिशयनी एकादशीका दिन स्थायी तुलसी मठमा सारिन्छ। यससँगै तुलसीको नियमित पूजा, आराधना र चतुर्मास व्रतको प्रारम्भ हुने विश्वास छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो अवधिलाई चतुर्मास भनिन्छ। यही कारण यस दिनलाई हरिशयनी एकादशीका रूपमा मनाइन्छ।
एकादशी व्रतलाई सनातन परम्परामा विशेष स्थान दिइएको छ। वर्षभर पर्ने २४ एकादशीमध्ये धेरै भक्तजनले सबै एकादशीमा व्रत बस्ने गरे पनि कतिपयले चतुर्मासभित्र पर्ने एकादशीमा मात्र उपवास गर्ने चलन छ। हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।
हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठसहित उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस दिन चामलबाट बनेका परिकार त्यागेर फलफूल, रोटी, ढिँडो लगायतका सात्त्विक भोजन ग्रहण गर्ने परम्परा रहेको छ।
धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि लिइन्छ। वातावरण शुद्ध बनाउन, विभिन्न रोगको उपचारमा सहयोग पुर्याउन तथा घरपरिवारमा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वासका कारण अधिकांश हिन्दू परिवारले तुलसीको संरक्षण र पूजा गर्ने परम्परा कायम राखेका छन्।
चार महिनासम्म विशेष पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। यससँगै चतुर्मास व्रतको समापन गरी हवन तथा अन्य धार्मिक अनुष्ठान सम्पन्न गर्ने परम्परा रहँदै आएको छ।