Breaking Nepal

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। यो कुल वार्षिक लक्ष्यको ८५.१५ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ।
कार्यालयले गत आर्थिक वर्षका लागि १२ अर्ब १० करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यको तुलनामा १ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ कम राजस्व उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए।
सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरबाट आएको छ। त्यसपछि अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), ब्याज कर, बहाल आयकर तथा अन्य शीर्षकबाट राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार अघिल्ला दुई आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि लक्ष्य भने पूरा हुन सकेन। आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, २०८१/८२ मा ७.६१ प्रतिशत र २०८२/८३ मा ७.२८ प्रतिशतले राजस्व वृद्धि भएको तथ्यांकले देखाएको छ।
हाल कार्यालयअन्तर्गत ६० हजार ६७५ करदाता आबद्ध छन्। कार्यालय प्रमुख उप्रेतीका अनुसार जेन्जी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन प्रभावित भएको हो। आन्दोलनका कारण कार्यालयबाहिर पुगेर कर प्रशासनसम्बन्धी काम गर्न कठिन भएको उनले बताए।