Breaking Nepal

सर्लाही / सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया मिलाइदिने नाममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उक्त सूचनापछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनाको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।