मेरिल्याण्ड कलेजको वक्तृत्व प्रतियोगितामा सुरजकुमार भए उत्कृष्ट

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ १५:०३

विराटनगर / अध्ययनसँगै विद्यार्थीको अभिव्यक्ति क्षमता, तार्किक सोच र नेतृत्व विकासलाई प्राथमिकता दिँदै विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको अन्तरकक्षा वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ का छात्र सुरजकुमार यादव प्रथम भएका छन् ।
क्याम्पस परिसरमा शनिबार सम्पन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

‘कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र विद्यार्थीको भविष्य’ विषयमा प्रभावशाली तर्क, विश्लेषण र प्रस्तुति दिएका सुरज उत्कृष्ट घोषित भएका हुन् ।

प्रतियोगितामा रस्मिता दाहाल द्वितीय र प्रेरणा प्रियम मेहता तृतीय भइन् । त्यसैगरी रञ्जना राजवंशी, सुप्रिया पौद्वार, खुशी झा र प्राप्ती दाहालले सान्त्वना स्थान हासिल गरे ।

कवि तथा पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको प्रतियोगितामा सहभागी विद्यार्थीको विषयवस्तुको गहिराइ, प्रस्तुतीकरण शैली, तार्किक क्षमता र आत्मविश्वासलाई मूल्याङ्कनको आधार बनाइएको कलेजले जनाएको छ ।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशक भेषराज पोखरेल, मनोजकुमार गुप्ता, गणेश दाहाल, मनिष पोखरेल तथा प्रमुख निर्णायक नवोदितले अविर र खादा लगाइदिएर पुरस्कार र प्रमाणपत्र र प्रदान गरे ।

प्रिन्सिपल ढकालका अनुसार कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता, आलोचनात्मक सोच र सार्वजनिक बोल्ने सीप विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ । अन्तरकलेज प्रतियोगितामा समेत मेरिल्याण्डका विद्यार्थीले विभिन्न पुरस्कार प्राप्त गर्ने गरेको प्रिन्सिपल ढकालले जानकारी दिए ।

कलेजले वक्तृत्वकलासँगै वादविवाद, कविता वाचन, हाजिरीजवाफ, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप नियमित सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समसामयिक विषयमा विश्लेषणात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने कलेजका निर्देशक भेषराज पोखरेलको भनाइ छ ।