Breaking Nepal

विराटनगर / पूर्वाञ्चल साहित्य प्रतिष्ठानले नयाँ पुस्ताका स्रष्टालाई प्रोत्साहन गर्ने अभियानलाई निरन्तरता दिँदै कवि निर्मला नेपालको कविता सङ्ग्रह ‘समयका पदचापहरू’ सार्वजनिक गरेको छ ।
आइतबार विराटनगरमा आयोजित विशेष समारोहमा कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा समारोहका सभापति विवश पोखरेल र प्रमुख अतिथि साहित्यकार गङ्गा सुवेदीले साहित्यिक सिर्जनाले समाजको चेतना, संवेदना र समयको दस्तावेजका रूपमा भूमिका खेल्ने उल्लेख गर्दै पूर्वाञ्चल साहित्य प्रतिष्ठानले स्थापित स्रष्टासँगै उदाउँदा प्रतिभालाई पनि निरन्तर प्रोत्साहन गर्दै आएको बताए ।
कार्यक्रममा वक्ताहरूले कविता समाजका अनुभूति, संघर्ष, परिवर्तन र समयको यथार्थलाई अभिव्यक्त गर्ने प्रभावकारी विधा भएकाले यस्ता कृतिको प्रकाशनले नेपाली साहित्यलाई थप समृद्ध बनाउने धारणा राखे । उनीहरूले सिर्जनशील पुस्तालाई अवसर उपलब्ध गराउने साहित्यिक संस्थाहरूको भूमिका पछिल्लो समय झन् महत्वपूर्ण बन्दै गएको पनि उल्लेख गरे ।
विमोचित कृतिमाथि साहित्यकार बाबुराम पोखरेल र प्रतिमा निरौलाले समीक्षा गर्दै ‘समयका पदचापहरू’ मा समकालीन समाज, मानवीय संवेदना, जीवनका अनुभूति र समयको परिवर्तनशील चरित्रलाई सरल तर प्रभावकारी भाषाशैलीमा प्रस्तुत गरिएको टिप्पणी गरे ।
प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठान सदस्य दिङलाली कान्छोले स्वागत मन्तव्य राखेका थिए । साहित्यकारहरू वलराम पोखरेल, कविराज न्यौपाने र खेम नेपालीले कृतिको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता साहित्यिक गतिविधिले सिर्जनशील वातावरण विस्तार गर्न सहयोग पुग्ने बताए ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले नियमित रूपमा साहित्यिक गोष्ठी, कृति विमोचन, समीक्षा र स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले प्रदेशस्तरमा साहित्यिक सिर्जना र पठन संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याइरहेको सहभागीहरूको भनाइ थियो ।