Breaking Nepal

विराटनगर / विद्यार्थीको स्वास्थ्य अवस्था समयमै पहिचान गरी स्वस्थ सिकाइ वातावरण सुनिश्चित गर्ने उद्देश्यले विराटनगरस्थित ओडिसी सेकेन्डरी स्कुलले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ।
विराटनगर महानगरपालिका–१० मा रहेको विद्यालयले आइतबार विराट टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ५०० विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल निरज दासले बताए।
शिविरमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको नाक, कान, घाँटी, दाँत, बालरोग तथा जनरल फिजिसियनमार्फत विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सामान्य स्वास्थ्य समस्या पहिचान भएका विद्यार्थीलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार बालबालिकामा देखिने कतिपय स्वास्थ्य समस्या उनीहरूले अभिभावक वा शिक्षकसँग सहज रूपमा व्यक्त गर्न नसक्ने अवस्था रहने भएकाले विद्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो। यसबाट सम्भावित स्वास्थ्य जोखिमको प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक उपचार तथा परामर्शमा जोड्न सहज हुने विश्वास विद्यालयले लिएको छ।
स्वास्थ्य र शिक्षाबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै विद्यालयले नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीको शारीरिक तथा मानसिक विकास, सिकाइ क्षमता र विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने जनाएको छ। विशेषज्ञका अनुसार बालबालिकामा देखिने आँखा, दाँत, कान, घाँटी, पोषण तथा श्वासप्रश्वाससम्बन्धी समस्या समयमै पहिचान हुन सके दीर्घकालीन जटिलता न्यूनीकरण गर्न सहयोग पुग्छ।
वि.सं. २०६३ सालमा स्थापना भएको ओडिसी सेकेन्डरी स्कुलले विराटनगर तथा आसपासका क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले आगामी दिनमा यस्ता स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रयोगात्मक, सीपमूलक र विद्यार्थीकेन्द्रित शैक्षिक गतिविधि थप विस्तार गर्ने जनाएको छ।