उद्योगको स्थापना रोजगारी र आर्थिक विकास

Breaking Nepal

सुदर्शन अधिकारी
शुक्रबार ,साउन १६ , २०८२ १५:४४

आज हाम्रो प्रमुख समस्याको रूपमा रोजगारी सिर्जना गर्न नसक्नु रहेको छ । यसको मूल कारण उद्योग तथा कलकारखानाको विकास र विस्तार नहुनु नै हो । नेपालको सन्दर्भमा भन्ने हो भने पछिल्लो समयमा वैदेशिक रोजगारी मात्र रोजगारीको माध्यम बनेको देखिन्छ । हाम्रो अर्थतन्त्र चलायमान बन्न नसकिरहेको अवस्था एकातिर छ भने अर्कातिर स्वदेशमा नै रोजगारी सिर्जना गर्न नसक्दा युवा जनशक्तिको अभावसमेत भइरहेको वास्तविकता छिपेको विषय पनि होइन । उद्योग नै त्यस्तो महत्वको क्षेत्र हो, जसले एकैपटक सयौँ श्रमिकलाई रोजगारी उपलब्ध गराएको हुन्छ । बढ्दो बेरोजगारी समस्याको समाधानका लागि यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।

उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ४ सय ९३, कोसी, मधेस र गण्डकीमा १९, लुम्बिनीमा २५ र सुदूरपश्चिममा ६ वटा उद्योग दर्ता भएका छन् । उद्योगको विस्तार र विकासले रोजगारीका साथै उत्पादनको पनि विकास गर्छ, जसले आर्थिक विकासमा समेत टेवा दिन्छ । उत्पादित वस्तुले बजार प्राप्त गर्छ । यसबाट व्यापारीले पनि सहज रूपमा व्यापार गर्न पाउँछ भने सो वस्तुका लागि हामीले आयात गर्दा लाग्ने रकमको बचत पनि हुन्छ । तसर्थ, उद्योग स्थापना र विस्तारले बहुआयामिक प्रभाव पारेको हुन्छ । रोजगारीको सिर्जनामा त ज्यादै सहयोग पुग्छ । त्यतिमात्र नभएर उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति पनि स्वदेशमा नै हुने अनेकौँ उद्योग हुन्छन् । दृष्टान्तका लागि धानबाट चामल उद्योग, तोरीबाट तेल, गहुँबाट मैदा, सुर्तीबाट चुरोट उद्योगका लागि आवश्यक कच्चा पदार्थहरूको सहज रूपमा उपलब्धता हुन्छ । यसले कृषिको विकासमा समेत ठूलो सहयोग पुग्छ ।

हामी कृषिप्रधान देशका नागरिक तर पछिल्लो समय मासिक करोडौँ रकम खर्च गरेर चामललगायतका खाद्यान्न आयात गरिरहेका छौँ । यस्तो अवस्थाबाट मुक्त हुनका लागि पनि हामीले उद्योगको विकासमा जोड दिनुपर्छ । आयात वृद्धि हुँदा हाम्रो अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ । व्यापार घाटा पनि उच्च दरमा वृद्धि भएर गएको अवस्था छ । कृषिजन्य उद्योगको विकास गर्न सक्यौँ भने हाम्रो बढ्दो व्यापार घाटा पनि कम गर्न सकिन्छ ।

आज आम युवावर्गलाई कृषिमा आकर्षित गर्नका लागि सरकारले विशेष नीति निर्माण गरी त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । यसले दोहोरो फाइदा पुग्छ । पहिलो, बाँझो रहेका हजारौँ रोपनी जमिनमा खेतीपाती हुन्छ भने दोस्रो उत्पादन वृद्धि भएर आयातमा कमी गर्न पनि सहगोग पुग्छ । साथै, कृषिजन्य उद्योगका लागि सहज रूपले कच्चा पदार्थको उपलब्धतासमेत हुन्छ । यसरी बहुआयामिक महत्वका उद्योगको विकासमा राज्यले विशेष चासोका साथ कार्य गर्ने हो भने हाम्रो शिथिल अर्थतन्त्रमा त्राण भर्नुका साथै आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पर्न जानेमा विमति रहँदैनथ्यो ।

उद्योग र आर्थिक विकास एक–अर्कामा परिपूरक रहेका हुन्छन् । एकको विकासले अर्कोको पनि विकास गरिरहेको हुन्छ । त्यसैले त हरेक विकसित देशमा उद्योगको पर्याप्तता रहेको हुन्छ । हामीले विगतमा निजीकरणका नाममा सहज रूपले सञ्चालनमा रहेका दर्जनौँ उद्योग निजी क्षेत्रका व्यापारी तथा उद्योगपतिको जिम्मा लगाउने गलत कार्य गर्न पुग्यौँ । जसका कारण आज पनि अत्यावश्यक र महत्वका उद्योगको स्थापना गर्न सकिरहेका छैनौँ । राज्यले देशको आर्थिक विकासका लागि कम्तीमा पनि हरेक वर्ष एक प्रदेशमा एक उद्योगको मात्र स्थापना गर्ने हो भने पनि पाँच वर्षमा उद्योगको विकास र विस्तारमा ठूलो टेवा मिल्छ । उद्योगको विकासले व्यापार, उत्पादन र आयातमा कमी मात्र नल्याई निर्यात प्रवद्र्धनमा समेत सहयोग गर्छ । तसर्थ, उद्योगको स्थापनामा गम्भीरताका साथ राज्य लाग्नुपर्छ ।

हामी पछिल्लो समय अलि सौखिन र विलासी जीवनयापनमा रम्न थालेका छौँ । नेपालमा श्रमको सम्मान गर्ने परिपाटी पनि कमजोर रहेका कारण विकासमा अवरोध सिर्जना भएको देखिन्छ । पश्चिमा देशहरूमा श्रमको उच्च मूल्यांकन गरिन्छ । हरेक काम समान हो भन्ने दृष्टिकोण रहेको हुन्छ । तर, हामीकहाँ कामको आधारमा मान, प्रतिष्ठा जोडिएर आउने गर्छ । जसका कारण पनि हामी देशको विकासमा पछि परिरहेका छौँ । उद्योगको समुचित रूपले विकास गर्न राजनीतिक स्थिरताको पनि खाँचो रहन्छ भने स्पष्ट आर्थिक नीतिको पनि आवश्यकता रहन्छ । हाम्रो प्रमुख समस्या भनेकै राजनीतिक अस्थिरता र स्पष्ट नीतिको अभाव रहेको देखिन्छ ।

नेपालका लागि उद्योगको विकासले मात्र वैदेशिक रोजगारीलाई क्रमशः विस्थापन गर्न सकिने प्रभावकारी उपाय बन्न सक्छ । वैदेशिक रोजगारीबाट प्राप्त गरिने विप्रेषण दीर्घकालीन हितमा हुँदैन । यस वास्तविकतालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ । राज्यले देश र आम नागरिकका हितमा निःस्वार्थ रूपले काम गर्न सक्नुपर्छ । देशको समग्र विकासका लागि दूरदर्शिता पनि प्रदर्शन गर्ने हिम्मत गर्न सक्नुपर्छ । विकासका लागि सुशासनको महत्वत्पूर्ण भूमिका रहन्छ । आज हाम्रो विकासको बाधकका रूपमा रहेको प्रमुख समस्या भनेको भ्रष्टाचार पनि हो । दण्डहीनता पनि अर्को समस्या रहेको देखिन्छ । यदि सरकारले दृढताका साथ उद्योग स्थापनामा जोड दिन सक्ने हो भने निश्चय पनि उद्योगको विकास र विस्तारमा ठूलो टेवा पुग्छ ।

आजको बढ्दो बेरोजगारी समस्या समाधान गर्न पनि क्रमशः ठूला उद्योगको स्थापना गर्न सक्नुपर्छ । देशको चौतर्फी विकासका लागि सर्वप्रथम त उद्योगको स्थापना र विकासमा ध्यान दिनुपर्छ । एउटा क्षेत्रको विकासले अन्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने भनेकै उद्योगको स्थापना गर्नु हो । कृषिमा आधारित उद्योगको स्थापना भएमा कृषिको विकास, उत्पादनमा वृद्धि, आयातमा कमी र निर्यातमा समेत वृद्धि गर्न सकिने भएकाले उद्योगको विकास अपरिहार्य बनेको देखिन्छ । हरेक वर्ष किसान रासायनिक मल अभावको सामना गर्न बाध्य भएका छन्, मानौँ कि यो नेपालको स्थायी समस्या हो । नेपालमै मल उत्पादन गर्ने कारखाना स्थापना गरिने भनेको पनि एक दशक बितिसक्यो । काम गर्ने दृढता भए अवश्य पनि एक वर्षभित्रमा मल कारखाना स्थापना गर्न सकिन्छ ।

स्वदेशमै रहेर श्रम गर्ने चाहना आम युवावर्गमा नभएको होइन । राज्यले स्वदेशमा नै रोजगारी सिर्जना गर्न हरतरहले प्रयास गर्नुपर्छ । हाल सञ्चालनमा रहेका उद्योगमा विभिन्न प्रकारका समस्या छन् । उद्योगबाट तीनवटै तहका सरकारले कर लिन पाउने नीतिका कारण उद्योग सञ्चालकहरू समस्यामा परेका हुन् । उनीहरूको माग भनेको एक स्थानबाट वा कुनै एक तहले मात्र उद्योगमा कर लाउने स्पष्ट नीतिको व्यवस्था गरिनुपर्छ । उद्योग विभागको पछिल्लो विवरणअनुसार चकलेट, घिउ, चामल, पीठो, पाउरोटी, चिनी, चुरोट, जुटका सामान, सिमेन्ट, इँटा, जुत्ता, चप्पल आदि उत्पादन गर्ने उद्योगको क्षमतामा कमी आएको देखिएको छ ।

नेपालमा उद्योगको स्थापना हुन नसक्नुका अनेकौँ कारण छन् । त्यस्ता समस्या क्रमिक रूपमा हटाउँदै जानुपर्छ । औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा सहजता, उद्यमीलाई सहज रूपले ऋणको व्यवस्था तथा उत्पादित वस्तुले सहजै बजारीकरण गर्न पनि राज्यबाट विशेष ध्यान दिन आवश्यक हुन्छ । उद्योगबाट विभिन्न फाइदा हुन्छ । उद्योगबाट रोजगारी प्राप्त गर्न सकिन्छ । देशको राष्ट्रिय आम्दानीमा वृद्धि हुन्छ । देशमा उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गर्न सकिन्छ । आयात घटाई निर्यात वृद्धि गर्न सकिन्छ । स्वदेशमा रहेको पुँजीको परिचालन गरी थप पुँजी निर्माण गर्न सकिन्छ । औद्योगिक वस्तुमा आत्मनिर्भर बन्न सहयोग पुग्छ ।

देशका सबै प्रदेशमा उद्योगको स्थापना र विस्तार गर्न सकिएमा देशको सन्तुलित विकास हुन्छ । कृषिक्षेत्रमा मात्र निर्भर रहेको अर्थतन्त्रमा औद्योगिक वस्तुमा पनि आत्मनिर्भर रहन सहयोग पुग्छ । स्थानीय सीप र क्षमताको विकास गर्न सकिन्छ । नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन सहयोग पुग्छ । उद्योगको विकासले हाम्रो कला, संस्कृति तथा परम्पराको समेत संरक्षण गर्न प्रभावकारी र सकारात्मक सहयोग पुग्छ । नेपाल सरकारले उद्योगको स्थापना र विकासका लागि औद्योगिक व्यवसाय ऐन, २०७६ को कार्यान्वयन गरिरहेको छ ।

उद्योग नै त्यस्तो महत्वको क्षेत्र हो, जसको स्थापना र विकासले श्रम, पुँजी, सीप र प्रकृतिको उपयोग गरी वस्तु तथा सेवाको उत्पादन गर्ने कार्य गर्ने भएकाले यसको विकासले देशको समग्र विकासमा ठूलो टेवा दिएको हुन्छ । देशमा उद्योगको स्थापना गरी आर्थिक विकास गर्नका लागि राज्यले उद्योगमैत्री नीतिको तर्जुमा गर्नुपर्छ । त्यसैगरी औद्योगिक क्षेत्रमा शान्ति सुरक्षाको वातावरण निर्माण गर्नुपर्छ । उद्योगपति तथा लगानीकर्तालाई सहज रूपमा ऋण उपलब्ध गराउनुपर्छ । औद्योगिक पूर्वाधारको विकास गरी औद्योगिक क्षेत्रको घोषणा गरेर यसको विकास र विस्तार गर्नुपर्छ । स्वदेशमै कच्चा पदार्थको उत्पादन गर्न सक्नुपर्छ । उत्पादित वस्तुको बेलाबेलामा प्रदर्शनीको व्यवस्था पनि गर्नुपर्छ ।

आजको बढ्दो बेरोजगारी समस्या समाधान गर्न तथा आर्थिक विकासका लागि मात्र नभई आयात घटाउन पनि उद्योगको स्थापना, विकास र विस्तार अपरिहार्य रहेको छ, तसर्थ राज्यले हरतरहले कम्तीमा पनि एक वर्षमा एउटा मात्र उद्योगको स्थापना गर्ने कार्यमा गम्भीरतापूर्वक लाग्नुपर्छ । यसका लागि उद्योगमा लगानी गर्न चाहने लगानीकर्ताको समेत मन जित्ने काममा जुट्नुपर्छ । लगानीमैत्री वातावरण निर्माणका लागि पनि विशेष ध्यान दिनुपर्छ । तबमात्र उद्योगको स्थापना र विकासमा सहजता आउने अपेक्षा गर्न सकिन्छ ।

कारोबारबाट:- https://www.karobardaily.com/news/294188