पहिचान र एकताको सन्देश : किरात राईको लोगो र झण्डाबारे विराटनगरमा विश्लेषणात्मक प्रशिक्षण सुजाता राई

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ १२:१८

विराटनगर / किरात राई समुदायको इतिहास, पहिचान र सांस्कृतिक मौलिकतालाई थप सुदृढ बनाउने उद्देश्यसहित किरात राई यायोक्खाले लोगो, झण्डा तथा तिनको ऐतिहासिक पृष्ठभूमिबारे एकदिने विश्लेषणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।शनिबार विराटनगरस्थित साकेला भवनमा आयोजित कार्यक्रममा किरात राई यायोक्खाकी अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा दोर्पध्वज राई सहभागी थिए भने किरात प्रदेश सदस्य खड्काबहादुर राई, सुम्निमा सांस्कृतिक परिवारका अध्यक्ष मधु राई, सुम्निमा संघ मोरङकी उपाध्यक्ष नन्दकुमारी राई, सुम्निमा संघकी अध्यक्ष सुनिता छाराहाङ राई, बान्तावा खिम नगर अध्यक्ष हाङ्कोनयुमा राई, यायोक्खाका सल्लाहकार भुराज राई, मेजर मानबहादुर राई तथा पूर्वअध्यक्ष मोहन राईलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै सल्लाहकार मेजर मानबहादुर राईले समुदायभित्र विचार र सोचमा देखिएको विभाजनले अपेक्षित एकता कायम हुन नसकेको बताए। उनले भेदभाव र विभाजनको मानसिकता त्यागेर साझा पहिचानका आधारमा सबै किरात राई एकताबद्ध हुनुपर्नेमा जोड दिए।
‘एक–एक थोपा मिलेर पानी बन्छ, नदी–नदी मिलेर समुद्र बन्छ भनेझैँ हाम्रो समुदाय पनि साझा उद्देश्यका साथ संगठित हुनुपर्छ,’ उनले भने।


प्रमुख अतिथि दोर्पध्वज राईले किरात राई समुदायको मौलिक पहिचान, इतिहास र संस्कृतिको संरक्षणका लागि लोगो र झण्डाको सही अर्थ र महत्वबारे स्पष्ट बुझाइ आवश्यक रहेको बताए। उनले यस्ता प्रशिक्षणले नयाँ पुस्तामा समुदायको इतिहास हस्तान्तरण गर्न तथा संगठनलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रशिक्षणपछि सहभागीहरूले कार्यक्रमलाई समयसापेक्ष, ज्ञानवर्द्धक र समुदायको पहिचान संरक्षणका दृष्टिले अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।
किरात राई यायोक्खाकी सह–सचिव बालकुमारी राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दशरथ रुमदाली राईले गरेका थिए।