अनुमानजस्तो ठूलो बाढीको जोखिम टर्‍यो, साना नदीमा भने सतर्कता कायमै

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ १६:५३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो वर्षाको अवस्था विश्लेषण गर्दा प्रारम्भिक अनुमानअनुसार ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो। सोही आधारमा पूर्वदेखि पश्चिमसम्मका २४ जिल्लालाई उच्च जोखिम सूचीमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको थियो।

तर विभागका बाढीविद् सौहार्द जोशीका अनुसार वास्तविक वर्षा अनुमानभन्दा फरक ढंगले वितरण भएकाले ठूलो बाढीको अवस्था सिर्जना भएन। उनका अनुसार भारी वर्षा सीमित स्थानमा मात्र भएको र एउटै जलाधार क्षेत्रमा केन्द्रित नभएकाले नदी प्रणालीमा व्यापक बहाव वृद्धि देखिएन।

आज बिहानसम्मको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको विभागले जनाएको छ।

यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव एक्कासि बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न विभागले आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा पूर्वतयारीलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रमा रातिको सवारी आवागमन नियन्त्रण गर्ने व्यवस्था मिलाइएको छ भने सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ।