भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा पुनः सञ्चालन, पित्तथैली शल्यक्रियाको पालो पनि अघि सारिने

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ १६:३१

चितवन । प्राविधिक समस्याका कारण केही समयदेखि अवरुद्ध रहेको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। अस्पतालले बिग्रिएको उपकरण मर्मत गरेपछि सेवा आइतबारदेखि पुनः सुचारु भएको हो।

अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार करिब नौ वर्षदेखि सञ्चालनमा रहेको सिटी स्क्यान उपकरणको एक्स–रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो। खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स–रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको उनले बताए।

सेवा अवरुद्ध हुँदा बिरामीको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले अस्पतालले असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग सहकार्य गरी स्वास्थ्य बिमाअन्तर्गतकै शुल्कमा निजी अस्पतालबाट सिटी स्क्यान सेवा उपलब्ध गराउँदै आएको थियो। अस्पतालका अनुसार दैनिक औसत ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन्।

यसैबीच, अस्पतालले पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ। दूरबिन (ल्यापारोस्कोपिक) र चिरफार (ओपन) दुवै विधिबाट गरिने शल्यक्रियाको प्रतीक्षा अवधि घटाउने उद्देश्यले तालिका पुनः व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता तथा सहप्राध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने लक्ष्यका साथ नयाँ कार्यतालिका लागू गरिएको हो।

यसअनुसार विसं २०८३ माघपछि शल्यक्रियाको पालो पाएका सेवाग्राहीलाई अस्पतालमा सम्पर्क गरी नयाँ मिति सुनिश्चित गर्न आग्रह गरिएको छ। अस्पतालले सम्बन्धित बिरामीलाई समयमै सम्पर्क गरेर संशोधित तालिकाअनुसार शल्यक्रिया गराउन अनुरोध गरेको छ।