Breaking Nepal

‘आमा’—
यो शब्द होइन, मेरो सम्पूर्ण संसार हो,
जुन शब्दमा मेरो सास अडिएको छ ।
आमा बिना घर, घर जस्तो लाग्दैन,
उज्यालो दिन पनि अँध्यारोझैँ हुन्छ ।
आज ‘आमाको मुख हेर्ने दिन’ आमा,
म भने टाढाको सहरको भीडमा हराइरहेछु—
तपाईंको आँगनको माटो होइन,
कङ्क्रिटका जंगलबीच
आफ्नै सपना बोकेर संघर्ष गरिरहेछु।
याद आउँछ—
तपाईंको काखको त्यो न्यानो स्पर्श,
जहाँ न पीडा थियो, न कुनै डर,
केवल माया थियो—
अथाह, निश्छल, अनन्त ।
आज मोबाइलको सानो पर्दामा
तपाईंको अनुहार हेर्छु,
ओठमा मुस्कान देखिन्छ,
तर आँखाभित्र कतै
अदृश्य आँसु झरिरहेजस्तो लाग्छ।
कहिलेकाहीँ मन चिच्याउँछ—
आजै दौडिएर आउँ,
तपाईंको काखमा टाउको राखेर
फेरि सानो बालक बनूँ ।
तर—
समयले रोक्छ,
जिम्मेवारीले बाँध्छ,
अनि म आफैंलाई सम्झाउँछु—
“अझै लड्नुपर्छ,
आमाको सपना पूरा गर्नुपर्छ ।”
प्रार्थना गर्छु ईश्वरसँग—
कुनै घर आमा बिना नहोस्,
र कुनै आमा कहिल्यै
छोराछोरीको मायाबाट टाढा नहोस् ।
आमा,
आज टाढाबाट तपाईंको मुख हेर्दै
मेरो मनले यत्ति मात्र भन्छ—
“म यहाँ तड्पिरहेको छु,
तर तपाईंको माया नै
मेरो सबैभन्दा ठूलो शक्ति हो ।”