नेपाल बुद्धिचाल महासङ्घको विवादले राष्ट्रिय च्याम्पियनसिप प्रभावित, खेलाडी असन्तुष्ट

Breaking Nepal

मंगलबार ,जेष्ठ १२ , २०८३ ०९:२९

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घ भित्रको आन्तरिक विवादको असर झापामा ११ जेठदेखि तय गरिएको राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा परेको छ । निर्धारित मितिमा छनोट प्रतियोगिता सुरु हुन नसकेपछि खेलाडीहरूले असन्तुष्टि जनाउँदै विज्ञप्तिसमेत जारी गरेका छन् ।

महासङ्घको साधारण सभा दुई स्थानमा आयोजना भएपछि विवाद थप चर्किएको हो । गत ११ वैशाखमा अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामा विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद सुरु भएको थियो ।

त्यसपछि महर्जन पक्षले हेटौडामा साधारण सभा गर्ने निर्णय गरेको थियो भने बहुमत सदस्यहरूले काठमाडौँमै साधारण सभा गर्न माग गर्दै छुट्टै निवेदन दर्ता गरेका थिए ।

१० जेठमा काठमाडौँमा सम्पन्न साधारण सभाले दिपेन राई को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । यता हेटौडामा तय गरिएको साधारण सभा भने स्थगित गर्दै ११ जेठका लागि सारिएको थियो ।

विवादका कारण प्रतियोगिताका लागि आवश्यक बोर्ड र चेस घडी समयमै उपलब्ध हुन सकेन । आयोजकको पहलमा सामग्री व्यवस्थापन गरिए पनि प्रतियोगिताका लागि पूर्वनिर्धारित प्राविधिक टोली हेटौडामै रहेपछि खेल सञ्चालन प्रभावित भएको जनाइएको छ ।

निर्धारित समयमा प्रतियोगिता सुरु हुन नसकेपछि खेलाडीहरूले महासङ्घको विवादले खेल गतिविधि प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।