रास्वपाको प्रदेश अधिवेशन आजदेखि, असार ७–९ मा चितवनमा प्रथम महाधिवेशन

Breaking Nepal

मंगलबार ,जेष्ठ २६ , २०८३ ०८:१६

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन सुदृढीकरण तथा नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै आजदेखि देशभर प्रदेश अधिवेशन सुरु गरेको छ। पार्टीका अनुसार प्रदेश अधिवेशनहरू असार १ गतेसम्म सम्पन्न हुनेछन् ।

वाग्मती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले काठमाडौंमा गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेशस्तरीय नेतृत्व चयन र संगठनात्मक संरचना सुदृढ गर्ने उद्देश्यसहित अधिवेशन सञ्चालन हुन लागेको रास्वपाले जनाएको छ ।

यसअघि पार्टीले जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला तहको अधिवेशनपछि प्रदेशस्तरीय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित बनाउने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना तथा नेतृत्व सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।

प्रदेश अधिवेशन र महाधिवेशनलाई रास्वपाले आफ्नो संगठन विस्तार र संस्थागत विकासको महत्वपूर्ण चरणका रूपमा लिएको छ ।