वातावरण परीक्षण प्रयोगशालालाई महानगरद्वारा १ लाखको उपकरण सहयोग

Breaking Nepal

मंगलबार ,जेष्ठ २६ , २०८३ ०८:३७

विराटनगर । वातावरणीय परीक्षण तथा प्रदूषण अनुगमन क्षमताको विस्तार गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नेपाल वातावरणीय सेवा केन्द्रलाई करिब १ लाख रुपैयाँ बराबरका उपकरण तथा रसायन सहयोग गरेको छ ।

मोरङ उद्योग व्यापार संघ परिसरमा सञ्चालित केन्द्रको प्रयोगशालाका लागि महानगरपालिकाले विभिन्न केमिकल, प्रिन्टर, अनलाइन युपिएस लगायतका सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले प्रयोगशालाको क्षमता अभिवृद्धिमा महानगरले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले औद्योगिक तथा शहरी गतिविधि तीव्र रूपमा विस्तार भइरहेको विराटनगरमा गुणस्तरीय वातावरणीय परीक्षण सेवा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीय स्तरमै वैज्ञानिक परीक्षण सुविधा विकास हुनु सकारात्मक संकेत भएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह तथा प्रयोगशालाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल वातावरणीय सेवा केन्द्र अन्तर्गतको उक्त प्रयोगशाला सन् २००२ मा फिनल्याण्ड सरकारको सीमएन परियोजनाअन्तर्गत स्थापना गरिएको हो । करिब ३ करोड रुपैयाँ लागतमा स्थापित प्रयोगशालाले औद्योगिक, घरेलु तथा कृषि क्षेत्रसँग सम्बन्धित पानी, माटो, हावा, ध्वनि तथा खाद्यजन्य प्रदूषणको परीक्षण सेवा प्रदान गर्दै आएको छ ।

प्रयोगशालाका प्रशासन प्रमुख सुरज सापकोटाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग तथा निजी क्षेत्रले आवश्यक पर्ने विभिन्न नमुनाको परीक्षण यही प्रयोगशालाबाट गरिँदै आएको छ । हाल वार्षिक रूपमा ५०० भन्दा बढी नमुनाको परीक्षण हुने गरेको उनले जानकारी दिए ।

सीमएन परियोजना सम्पन्न भएपछि मोरङ उद्योग व्यापार संघ, झापा, मोरङ र सुनसरीका जिल्ला समन्वय समिति तथा विराटनगर महानगरपालिका प्रयोगशालाको सञ्चालक समितिमा आबद्ध छन् ।

प्रयोगशाला प्रमुख निशा वाल्मिकीका अनुसार नेपाल सरकारको खानेपानी परीक्षण निर्देशिकाअनुसार २६ प्रकारका परीक्षण नियमित रूपमा सञ्चालन भइरहेका छन्। यसबाहेक फोहोर पानीको जेनेरिक स्ट्यान्डर्ड परीक्षण, वायु तथा ध्वनि गुणस्तर परीक्षण, माटो विश्लेषण, मलखाद परीक्षण तथा खाद्य पदार्थको गुणस्तर परीक्षणसमेत गरिँदै आएको छ ।

प्रयोगशालामा जडान गरिएको ‘एटोमिक एब्सोर्प्सन स्पेक्ट्रोफोटोमिटर’ उपकरणको मूल्य मात्रै झण्डै १ करोड रुपैयाँ रहेको बताइएको छ। उक्त उपकरणमार्फत पानी, माटो तथा खाद्य नमुनामा रहेका आइरन, लिड, जिङ्कलगायत धातुजन्य तत्वहरूको सूक्ष्म परीक्षण सम्भव हुने केन्द्रले जनाएको छ ।

वातावरणीय मापदण्ड कार्यान्वयन, औद्योगिक प्रदूषण अनुगमन तथा सार्वजनिक स्वास्थ्य सुरक्षामा प्रयोगशालाको भूमिका महत्वपूर्ण बन्दै गइरहेका बेला महानगरको पछिल्लो सहयोगले यसको सेवा क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।