Breaking Nepal

झापा / झापाको प्रमुख व्यापारिक तथा शहरी केन्द्र बिर्तामोड मा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार विस्तारले उल्लेखनीय गति लिएको छ । नगरपालिकाले एक वर्षको अवधिमा झण्डै ६ किलोमिटर सडक कालोपत्रे गर्दै आवागमनलाई थप सहज र व्यवस्थित बनाएको छ ।
नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला का अनुसार चालु आर्थिक वर्षमा नगरका विभिन्न वडा तथा टोलमा ५ किलोमिटर ७५१.२ मिटर सडक कालोपत्रे गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ४.४१ किलोमिटर सडक कालोपत्रे भएको तुलनामा यो प्रगति उल्लेखनीय मानिएको छ ।
यस अवधिमा बिर्तामोड–६ स्थित देवनिया खोला–मियाबारी–बिर्ताबजार सडक, बिर्तामोड–२ को रामचोक–कुमालवाडी सडक, बिर्तामोड–१० को द्रोण मार्गलगायतका सडक कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७४/७५ यता हालसम्म कुल १०१ किलोमिटर ६३१.२ मिटर सडक कालोपत्रे भइसकेको छ । त्यस्तै, चालु वर्षमै ७४५ मिटर सडक मर्मत तथा १ किलोमिटर ३३६ मिटर सडक ग्राभेल गरिएको छ ।
सडक पूर्वाधारमा निरन्तर लगानी
सडक स्तरोन्नतिका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । १० वटा वडा रहेको नगरपालिकाले सडक विस्तारसँगै कालोपत्रे अभियानलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
उपप्रमुख संग्रौलाका अनुसार गत भदौमा भएको जेनजी आन्दोलनका कारण विकास आयोजनाको कार्यान्वयन प्रभावित भए पनि नगरपालिकाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विकास निर्माणलाई निरन्तरता दिएको छ । आन्दोलनका कारण ठेक्का प्रक्रिया तथा योजना सम्झौता ढिलो सुरु भए पनि पुस महिनापछि अधिकांश आयोजना अघि बढाइएको उनले बताए ।
शहरीकरणसँगै सडक चौडीकरण अभियान
बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्ने उद्देश्यले बिर्तामोड–भद्रपुर र बिर्तामोड–शनिश्चरे सडक खण्डमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर सडक चौडा बनाउने अभियान पनि नगरपालिकाले अघि बढाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड रुपैयाँको बजेट पारित गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण सामग्री तथा परियोजनाको लागत बढाउँदा विकास आयोजनामा थप दबाब सिर्जना भएको नगरपालिकाको भनाइ छ ।
सडकमात्र होइन, अन्य पूर्वाधारमा पनि लगानी
सडकसँगै नगरपालिकाले अन्य भौतिक पूर्वाधार निर्माणमा समेत लगानी बढाएको छ। चालु आर्थिक वर्षमा १८ वटा भवन निर्माण तथा मर्मत, २.४१ किलोमिटर प्लम संरचना, नौ वटा कल्भर्ट, १० वटा कम्पाउण्ड वाल, २.०९ किलोमिटर पेभर्स तथा १.५५ किलोमिटर नाला निर्माण सम्पन्न गरिएको छ ।
त्यस्तै, दुर्गा मावि भवन, सैनिक सेवा भवन, त्रिपुरेश्वर शिवालय मन्दिर, विभिन्न स्वास्थ्य चौकी, वडा कार्यालय तथा पशु विकास शाखा भवनमा कम्पाउण्ड वाल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
सात वर्षमा ३०७ किलोमिटरभन्दा बढी सडक ग्राभेल
नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ यता हालसम्म ३०७ किलोमिटर ८५६ मिटर सडक ग्राभेल गरिएको छ । यस अवधिमा ५९२ विपन्न आवास, १० अस्पताल, ६ प्रशासनिक भवन, १८२ सामुदायिक भवन, ३७.७३ किलोमिटर पेभर्स तथा ब्लक र ३३.३५ किलोमिटर नाला–ड्रेनेज संरचना निर्माण गरिएको छ। साथै तीन वटा झोलुङ्गे पुल पनि निर्माण भएका छन् ।