Breaking Nepal

विराटनगर / विराटनगरस्थित एक होटलमा बसेका भारतीय नागरिकको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको बहुआयामिक अनुसन्धान अघि बढाएको छ। घटनासँग सम्बन्धित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ भने मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताइएको छ।
मोरङ प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स यादव हुन्। उनी विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा केही दिनदेखि बस्दै आएका थिए। शनिबार राति करिब ११ बजेतिर अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई तत्काल उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा यादव भारतमा दर्ता भएको एक मुद्दाका फरार प्रतिवादी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भारतीय प्रहरीको खोजी सूचीमा रहेका उनी बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ भएको खुलेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पटना केन्द्रित ‘खान सर’सँग सम्बन्धित विवाद तथा खान ग्लोबल स्टडीजमा भएको तोडफोड प्रकरणमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो । यद्यपि, उक्त प्रकरणबारे भारतीय निकायबाट औपचारिक विवरण सार्वजनिक भइसकेको छैन ।
घटनापछि प्रहरीले मृतकसँगै होटलमा बसिरहेका बिहारकै २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले उनीहरू मृतकका निकट सहयोगी वा चिनजानका व्यक्ति रहेको देखाएको छ ।
प्रहरीका अनुसार मृतकको कन्चटमा सामान्य चोटजस्तो देखिएको छ । शव हाल पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारणबारे स्पष्ट निष्कर्ष निकाल्न सकिने मोरङ प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकारीहरूले आत्महत्या, प्राकृतिक मृत्यु, लागुऔषधको अत्यधिक सेवन तथा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित सम्भावनालाई समेत खुला राखेर अनुसन्धान गरिरहेका छन्। नशालु पदार्थको ओभरडोजका कारण मृत्यु भएको हुन सक्ने आशंकालाई पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।