Breaking Nepal

चितवन । भरतपुर अस्पतालले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत अब बिरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न र स्वास्थ्य परीक्षणको रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। नयाँ प्रणाली कार्यान्वयनसँगै टिकटका लागि लामो लाइन बस्नुपर्ने बाध्यता हट्ने अस्पतालको अपेक्षा छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार ‘टिकट एन्ड रिपोर्ट भेन्डिङ मेसिन’ (किओस्क) मार्फत टिकट प्रिन्ट गर्न र रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था तयार गरिएको छ। प्रारम्भिक चरणमा दुईवटा मेसिन सञ्चालनमा ल्याइनेछ भने सेवाको मागअनुसार थप मेसिन जडान गरिने योजना छ।
नयाँ प्रणालीअनुसार बिरामीले अस्पतालको वेबसाइटमार्फत ओपीडी टिकट बुक गर्न, व्यक्तिगत विवरण भर्न, आवश्यक विभाग छनोट गर्न तथा अनलाइनबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्। भुक्तानीपछि प्राप्त हुने क्यूआर कोड वा कोडलाई अस्पतालमा रहेको किओस्क मेसिनमा स्क्यान गरेपछि टिकट स्वतः प्रिन्ट हुनेछ। प्रयोगशालाको रिपोर्ट पनि यही प्रणालीमार्फत प्राप्त गर्न सकिनेछ।
अस्पतालका सूचना प्रविधि (आईटी) इन्जिनियर चन्द्रमणि बस्यालका अनुसार यसअघि अनलाइनबाट टिकट बुक गरे पनि अस्पताल पुगेर पुनः लाइनमा बसेर टिकट लिनुपर्ने अवस्था थियो। नयाँ प्रणालीले त्यो प्रक्रिया हटाउँदै सेवा थप सहज र छिटो बनाउनेछ।
अस्पतालले स्वास्थ्य बीमा सेवासमेत डिजिटल प्रणालीमा आबद्ध गरेको छ। स्वास्थ्य बीमा कार्ड स्क्यान गरी बीमाको बाँकी सीमा, वैधता अवधि तथा सम्बन्धित विवरण हेर्न सकिने सुविधा पनि थपिएको छ। प्रणालीको प्राविधिक परीक्षण सफल भइसकेकाले अब क्रमशः नियमित सेवामा लागू गरिने तयारी गरिएको अस्पतालले जनाएको छ।
डिजिटल सेवाको प्रभावकारी प्रयोगका लागि अस्पतालले अनलाइन टिकट काट्ने प्रक्रिया सम्बन्धी भिडियो सामग्री तथा सूचना सामग्री सार्वजनिक गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा अनलाइन र परम्परागत दुवै प्रणाली समानान्तर रूपमा सञ्चालन गरिने भए पनि भविष्यमा सबै टिकट सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
अस्पतालले आगामी चरणमा ओपीडी जाँचका लागि समय–स्लट बुकिङ, अस्पतालमा बेड उपलब्धताको वास्तविक समय (रियल–टाइम) जानकारी तथा टिकटदेखि डिस्चार्जसम्मका अधिकांश प्रशासनिक सेवा अनलाइनमार्फत उपलब्ध गराउने योजना पनि अघि बढाएको छ। यसले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास गरिएको छ।