Breaking Nepal

सिरहा / सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको दैनिकी सामान्य बालबालिकाभन्दा निकै फरक छ। खेल्ने, रमाउने र आमाबुबाको स्नेहमा हुर्किने उमेरमा उनी दुई साना बहिनीको अभिभावकको भूमिकामा छन्। अभाव र पारिवारिक विछोडबीच पनि उनले आफ्नो पढाइसँगै बहिनीहरूको भविष्य सम्हाल्ने जिम्मेवारी बोकेका छन्।

जनता माध्यमिक (प्राविधिक) विद्यालयमा कक्षा ३ मा अध्ययनरत शेखरसँग ५ वर्षीया बहिनी सोनाक्षी र ३ वर्षीया दिव्यांशी छन्। सोनाक्षी विद्यालय जान थालेकी छन् भने दिव्यांशी बालविकास केन्द्रमा अध्ययनरत छिन्। हरेक बिहान शेखरले दुवै बहिनीलाई उठाउने, सरसफाइ गराउने, विद्यालयका लागि तयार पार्ने र कान्छी बहिनीलाई पिठ्युँमा बोकेर तथा अर्कीको हात समातेर विद्यालय पुर्याउने गर्छन्। आफ्ना बहिनीलाई कक्षामा पुर्याएपछि मात्र उनी आफ्नै कक्षामा पढ्न बस्छन्।

दुई वर्षअघि आमाबुबाबीच विवाद भएपछि आमा घर छाडेर गएकी थिइन्। त्यसयता उनी फर्किएकी छैनन्। रोजगारीका लागि झापास्थित एक प्लाइउड उद्योगमा कार्यरत रहेका बुबा पनि पछिल्लो एक महिनादेखि सम्पर्कविहीन भएपछि तीनै दाजुबहिनी अभिभावकविहीन अवस्थामा पुगेका छन्।
हाल उनीहरूलाई ठूला बुबा कमल यादव र ठूली आमाले आश्रय दिएका छन्। सीमित आर्थिक स्रोतका बीच उनीहरूले बालबालिकाको पालनपोषण गरिरहेका छन्। परिवारसँग एउटा सानो पक्की घरबाहेक उल्लेखनीय सम्पत्ति छैन।

शेखरले विद्यालयको जिम्मेवारीसँगै घरायसी काम पनि सम्हालिरहेका छन्। बहिनीलाई नुहाइदिने, लुगा धुने, घर सफा गर्ने, ओछ्यान मिलाउनेदेखि दैनिक हेरचाहसम्मका अधिकांश काम उनी आफैं गर्छन्। कठिन परिस्थितिका बाबजुद उनले आफ्नो तथा बहिनीहरूको पढाइ भने छुट्न दिएका छैनन्।
विद्यालयले पनि उनीहरूको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सहयोग गर्दै आएको छ। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहका अनुसार लुगाफाटा, साबुनलगायत आधारभूत सामग्री उपलब्ध गराउने काम भइरहेको छ भने शिक्षकहरू पनि बालबालिकाको शिक्षालाई निरन्तरता दिन सक्रिय छन्।

गोलबजार नगरपालिका–९ का वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले तीनै बालबालिकाको अवस्था संवेदनशील रहेको भन्दै वडा कार्यालयबाट आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएको बताए। शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा थप सहयोग जुटाउने विषयमा स्थानीय तहले पहल गरिरहेको उनले जनाएका छन्।
अभाव, पारिवारिक विछोड र जिम्मेवारीको भारीबीच पनि शेखरले शिक्षालाई निरन्तरता दिएका छन्। उनको संघर्षले बालअधिकार, सामाजिक सुरक्षा र अभिभावकविहीन बालबालिकाको संरक्षणमा राज्य तथा समुदायको भूमिकामाथि गम्भीर प्रश्नसमेत उठाएको छ।
