लागुऔषध सेवनपछि स्कर्पियो अनियन्त्रित, विराटनगरमा घर र विद्युत् पोलमा क्षति

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १२:४२

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ भट्टाचोकमा लागूऔषध सेवन गरेको आशंकामा रहेका चालकले चलाएको स्कर्पियो अनियन्त्रित भएर घरमा ठोक्किँदा एक महिला घाइते भएकी छन् । दुर्घटनामा घर, स्कर्पियो र विद्युत् पोलमा समेत क्षति पुगेको छ ।

बुधवार बिहान करिब ९ः४० बजे रानीबाट भट्टीमोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ८५३५ नम्बरको स्कर्पियो सडक छेउमा रहेको स्थानीय विनोद साहको घरमा ठोक्किएको ट्राफिक प्रहरी पोस्ट रानीले जनाएको छ। घरमा ठोक्किएपछि स्कर्पियो अगाडि रहेको विद्युत् पोलमा समेत ठोक्किएको थियो । ठक्करका कारण पोल भाँचिएर जोखिमपूर्ण अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

दुर्घटनाका क्रममा घरभित्र रहेकी ३६ वर्षीया शान्ति देवी साहको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न स्कर्पियो चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का ३४ वर्षीय पुकार शाक्यलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीका अनुसार प्रारम्भिक परीक्षणमा चालकले लागूऔषध सेवन गरेको देखिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।