६० दिनभन्दा बढी हाजिर नभएका २३ स्वास्थ्यकर्मीलाई स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

Breaking Nepal

बिहीबार ,असार ३२ , २०८३ ११:१०

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना नेपाल स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) अनुसार ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने आधारसहित लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न नसके वा तोकिएको अवधिभित्र जवाफ नआए सम्बन्धित कर्मचारीलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही गरिने मन्त्रालयले जनाएको छ।

कारबाहीको दायरामा परेका कर्मचारी वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगञ्ज तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका छन्।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक सफाइ पेस गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण नआए प्रचलित कानुनअनुसार विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।