बाढी–पहिरोको जोखिम बढ्दै, पाँच प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०८:५१

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार रातिदेखि विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले दिउँसोदेखि अधिकांश क्षेत्रमा चट्याङसहित वर्षा हुने र रातिबाट मनसुन अझ सक्रिय हुने अनुमान छ।

हिमाली, पहाडी तथा तराईका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

अति भारी वर्षासँगै बाढी, पहिरो, डुबान, नदी तथा खोलामा पानीको सतह बढ्ने, सडक अवरुद्ध हुने तथा जनजीवन प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नदी किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर सडकमार्गमा अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म देशका अधिकांश भू–भागमा वर्षा जारी रहने जनाएको छ। प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पालना गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।