देवानगन्ज घटनाको छानबिन सुरु, घाइतेसँग बयान लिन अस्पताल पुग्यो उच्चस्तरीय समिति

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ ०८:१९

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धान औपचारिक रूपमा सुरु गरेको छ।
नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समिति सोमबार राति विराटनगर आइपुगेपछि उपचाररत घाइतेसँग बयान लिने काम थालेको हो। समितिले विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पताल पुगेर घाइते तथा पीडितसँग घटनाबारे जानकारी लिएको सुरक्षा स्रोतले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनमा गठन गरिएको समितिलाई सात दिनभित्र घटनाको विस्तृत प्रतिवेदन सरकारसमक्ष बुझाउने जिम्मेवारी दिइएको छ। समितिले घटनाको वास्तविकता पत्ता लगाउन घाइते, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा उपलब्ध प्रमाणहरूको अध्ययन गर्ने जनाएको छ।
समितिले अब देवानगन्जको घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्ने, प्रत्यक्षदर्शीको बयान संकलन गर्ने तथा भिडियोसहित अन्य प्रमाणको विश्लेषण गर्ने तयारी गरेको छ। छानबिनका आधारमा जिम्मेवार देखिएका व्यक्ति वा निकायमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरिने बताइएको छ।
देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो भने पछि अवस्था सामान्य बन्दै गएसँगै कर्फ्यु हटाएर प्रभावित क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णय लिइने मन्त्रालयको भनाइ छ।

Desktop Popup ImageMobile Popup Image×