Breaking Nepal

झापा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीपछि इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो ।
अनुगमनका क्रममा साहले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गौरीगञ्ज–१ स्थित एक स्थानीय होटलबाट रंगेहात नियन्त्रणमा परेका हुन् ।
आयोगले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी साहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।