Breaking Nepal

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालसहित कोशी प्रदेश र देशभरका सरकारी तथा निजी अस्पतालमा मंगलबार आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द हुने भएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेपछि नियमित स्वास्थ्य सेवा प्रभावित हुने भएको हो । संघको निर्णयअनुसार मंगलबार ओपीडीसहित आकस्मिकबाहेकका सबै सेवा बन्द गरिने जनाइएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्यबाट भएको दमनको विरोधस्वरूप देशभरका अस्पतालमा आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने उल्लेख गरिएको छ ।
साउन ९ गते नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सकमाथि हातपात भएको थियो । घटनामा डा. प्रमोद रामको टाउकोमा चोट लागेको चिकित्सक संघले जनाएको छ ।
संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
चिकित्सकहरूको आन्दोलनका कारण कोशी अस्पतालसहित कोशी प्रदेशका अन्य अस्पताल तथा देशभरका स्वास्थ्य संस्थामा नियमित उपचार सेवा, ओपीडी र अन्य गैरआकस्मिक सेवा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने पूर्ववत् सञ्चालन हुने जनाइएको छ ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.










