तमोर करिडोरमा ट्रक दुर्घटनापछि आगलागी, एक जनाको जलेर मृत्यु

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ ०८:५१

धनकुटा / तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा हाइड्रोपावर आयोजनाका सामग्री बोकेको ट्रक दुर्घटनामा पर्दा आगलागी भई एक जनाको जलेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगो लागेको हो ।

दुर्घटनापछि ट्रकमा फैलिएको आगोका कारण एक जनाको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतक चालक नै हुन् वा अन्य व्यक्ति भन्ने विषय अझै पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना समेत खुल्न सकेको छैन ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको पहिचान र घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

Desktop Popup ImageMobile Popup Image×