विराटनगरका युवा समाजसेवी काफ्ले रास्वपाको क्षेत्रीय उपसभापतिमा चयन

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ ०९:१५

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ क्षेत्र नम्बर ४ (ख) को उपसभापतिमा युवा समाजसेवी नवराज काफ्ले सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय समितिको आइतबार सम्पन्न बैठकले काफ्लेलाई उपसभापतिको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

विराटनगरमा लामो समयदेखि सामाजिक, धार्मिक तथा युवा नेतृत्व विकाससम्बन्धी गतिविधिमा सक्रिय काफ्ले पार्टीभित्र संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिकामा आबद्ध रहँदै आएका छन् ।

नवनियुक्त उपसभापति काफ्लेले पार्टीले आफूलाई दिएको जिम्मेवारीलाई अवसरभन्दा पनि दायित्वका रूपमा लिएको प्रतिक्रिया दिएका छन्। उनले संगठनलाई थप गतिशील, प्रभावकारी र जनउत्तरदायी बनाउन प्रतिबद्धतापूर्वक काम गर्ने बताएका छन् ।

“पार्टीको संगठनलाई जनस्तरसम्म मजबुत बनाउने, युवाको सहभागिता बढाउने र आम नागरिकका मुद्दालाई प्राथमिकतामा राख्ने दिशामा आफ्नो भूमिका केन्द्रित रहनेछ,” काफ्लेले भने।

बैठकले काफ्लेलाई क्षेत्रीय निर्वाचन समितिको सिफारिसमा आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन गरेको जनाएको छ । यस निर्णयसँगै क्षेत्रीय संगठनभित्र उनको भूमिका थप सशक्त बनेको राजनीतिक वृत्तमा चर्चा छ ।

रास्वपाले आगामी संगठनात्मक अभियानलाई तीव्रता दिने तयारी गरिरहेका बेला काफ्लेको चयनलाई क्षेत्रीय नेतृत्व सुदृढीकरण तथा युवा पुस्ताको प्रतिनिधित्व विस्तारका रूपमा हेरिएको छ ।