Breaking Nepal

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा सेवा प्रवाह सुधारमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कनका आधारमा न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको हो ।
प्रहरी निरीक्षक न्यौपानेको नेतृत्वमा मोरङमा चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध सेवन तथा मादक पदार्थ सेवन परीक्षणलाई प्रभावकारी बनाइनुका साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यलाई तीव्रता दिइएको थियो ।
त्यसैगरी सिटी सफारी सञ्चालनलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक अभियान’ सुरु गरिएको थियो । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गर्नुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापन सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, ‘यहाँ पार्किङ निषेध’ संकेत बोर्ड, ट्राफिक कोन, अवरोधक संरचना तथा प्रतिबिम्बित ज्याकेटको प्रयोग विस्तार गरिएको थियो ।
समुदायस्तरमा निरन्तर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै सडक सुरक्षा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेका न्यौपानेले जन–जागरण अभियानलाई समेत प्रभावकारी बनाएका थिए ।
यस्तै, जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक बत्ती तथा सौर्य चेतावनी बत्ती पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनलाई व्यवस्थित बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, जिम्मेवारीबोध र कार्यकुशलतासहित सम्पादन गरिएका कार्यहरूको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।