लगानीमैत्री नीति र कानुनी सुधारको माग गर्दै सांसद न्यौपानेलाई परिसंघको ध्यानाकर्षण

Breaking Nepal

शनिबार ,असार २७ , २०८३ ११:११

विराटनगर / नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले कोशी प्रदेशको औद्योगिक तथा आर्थिक विकासलाई तीव्रता दिन नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकता दिन संघीय सांसद यज्ञमणि न्यौपानेसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभा सदस्य न्यौपानेलाई बुझाइएको सुझावपत्रमा परिसंघले मुलुकमा देखिएको लगानीको सुस्त वातावरण अन्त्य गर्न सरकारले स्पष्ट नीतिगत सुधार, कानुनी स्थायित्व र निजी क्षेत्रमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

परिसंघका अध्यक्ष पवनकुमार सारडाद्वारा हस्ताक्षरित सुझावपत्रमा हालको राजनीतिक परिवर्तनसँगै मुलुकले युवा नेतृत्व प्राप्त गरेको उल्लेख गर्दै नयाँ सरकारबाट आर्थिक सुधार, औद्योगिक विस्तार र सुशासनका क्षेत्रमा प्रभावकारी परिणाम आउने अपेक्षा निजी क्षेत्रले गरेको जनाइएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूची, मार्गचित्र तथा बजेटले निजी क्षेत्रमा सकारात्मक सन्देश दिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको परिसंघको धारणा छ ।

परिसंघले विगतदेखि निजी क्षेत्रले उठाउँदै आएका असान्दर्भिक कानुन, नियम तथा प्रशासनिक झन्झट हटाउन सरकार गम्भीर हुनुपर्ने बताएको छ । भ्रष्टाचार नियन्त्रणसँगै विधिको शासन सुदृढ बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

सुझावपत्रमा सुशासनका नाममा उद्योगी–व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिलाई कसुर प्रमाणित हुनुअघि नै पक्राउ गरी हिरासतमा राख्ने प्रवृत्तिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा कुनै विवाद नभए पनि प्रमाण नपुग्दै गरिने कारबाहीले लगानीकर्ता निरुत्साहित हुने र औद्योगिक वातावरण प्रभावित हुने परिसंघको भनाइ छ ।

परिसंघले सरकारले कानुनी शासन, पारदर्शिता र आर्थिक समृद्धिलाई प्राथमिकता दिए निजी क्षेत्र पूर्ण रूपमा सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

सुझावपत्रमा कोशी प्रदेशलाई औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाउन पनि आग्रह गरिएको छ । यसअघि यिनै विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष समेत सुझाव प्रस्तुत गरिसकिएको उल्लेख गर्दै सांसद न्यौपानेले संघीय संसद्मार्फत कोशी प्रदेशका औद्योगिक एजेन्डा अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास परिसंघले व्यक्त गरेको   छ।

परिसंघले कोशी प्रदेशमा लगानी आकर्षित गर्ने, उद्योग विस्तार गर्ने र आर्थिक गतिविधिलाई गति दिने विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट मात्र दिगो आर्थिक विकास सम्भव हुने निष्कर्ष पनि प्रस्तुत गरेको छ ।

सो अवसरमा परिसंघका प्रदेश अध्यक्ष पवनकुमार सारडासहित केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महानिर्देशक विजयहरि शर्मासहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।