कांग्रेस–एमाले सहकार्य टुट्ने संकेत, कोशीमा नयाँ सत्ता समीकरणको तयारी

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ २०:०२

विराटनगर / नेपाली कांग्रेसले प्रदेश तहमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेसँगै कोशी प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ । केन्द्रबाट गठबन्धन तोड्ने अनौपचारिक निर्णय सार्वजनिक भएसँगै कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामाको तयारी गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेस २०८१ भदौ २८ देखि सहभागी हुँदै आएको थियो । यद्यपि, प्रदेश संसदीय दलले केन्द्रबाट औपचारिक निर्देशन नआएकाले अन्तिम निर्णय कार्यदल बैठकपछि हुने जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रको औपचारिक निर्णय प्राप्त भएपछि मात्रै आवश्यक कदम चालिने बताए । यता एमालेले पनि कांग्रेसको स्पष्ट निर्णय पर्खिरहेको जनाएको छ ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्ने अवस्थामा एमालेसँग ४०, कांग्रेससँग २९ र नेकपासँग १७ सांसद छन् । कांग्रेस–एमाले गठबन्धन समाप्त भएमा दुवै दलका लागि नेकपाको समर्थन सरकार गठन र टिकाउन निर्णायक बन्ने देखिएको छ ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अहिले कुनै औपचारिक निर्णय नभएको जनाउँदै राजनीतिक अवस्था हेरेर मात्रै आगामी रणनीति तय गरिने बताए । उनले वैचारिक निकटताका कारण एमालेसँग सहकार्य अपेक्षाकृत सहज हुन सक्ने संकेत पनि गरेका छन् ।

यसअघि बजेट पारित गर्ने क्रममा सत्तारुढ गठबन्धनभित्र देखिएको असन्तुष्टि र नेतृत्व हस्तान्तरणको विषयमा भएको मतभेदले कांग्रेस–एमाले सम्बन्धमा दरार बढेको थियो । सत्ता हस्तान्तरणको सहमति कार्यान्वयन नहुने संकेत देखिएसँगै गठबन्धन विघटनको अवस्था सिर्जना भएको राजनीतिक वृत्तको विश्लेषण छ ।

कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया र दलहरूबीचको राजनीतिक संवाद थप तीव्र हुने अपेक्षा गरिएको छ ।