झापाको गौरीगन्जमा कार–मोटरसाइकल ठोक्किँदा मोरङका दुई जनाको मृत्यु

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०८:२३

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोलानजिक हुलाकी राजमार्गमा कार र भारतीय नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोरङका दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १ बजे विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मोहमद नुर स्लामको दमक अस्पतालमा दिउँसो २:४० बजे र एनबी मोजाबुल हकको विराटनगरस्थित न्यूरो अस्पतालमा ३:१० बजे मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा संलग्न कार र मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको जनाएको छ।