झापामा नियमविपरीत सञ्चालन भएका ४ औषधि पसल सिल, ४७ फार्मेसीमा अनुगमन

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०९:११

झापा । औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले नियमविपरीत सञ्चालनमा रहेका चार वटा औषधि पसल सिल गरेको छ।

तीन दिनसम्म सञ्चालन गरिएको अनुगमनका क्रममा भद्रपुर, बिर्तामोड, कचनकवल र दमक क्षेत्रका ४७ वटा औषधि पसलको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा औषधि ऐन तथा प्रचलित मापदण्ड उल्लङ्घन गर्दै सञ्चालन भएका चार वटा पसलमा सिल गरिएको विभागले जनाएको छ।

सिल गरिएका पसलमा भद्रपुरको सृजना फार्मेसी, चन्द्रगढीस्थित निदान आयुर्वेद मेडिकल, कचनकवलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक रहेका छन्।

औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार सृजना फार्मेसीले एउटै इजाजतपत्रबाट दुई वटा पसल सञ्चालन गरेको भेटिएको छ। निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र पेश गर्न नसकेको, अमिला मेडिकल हलमा व्यवसायीको अनुपस्थितिमै फार्मेसी सञ्चालन गरिएको तथा पसलको दर्ता नवीकरणको म्याद गत वर्ष नै सकिएको पाइएको छ। त्यस्तै, सापकोटा हेल्थ क्लिनिकले दर्ता नै नगरी फार्मेसी सञ्चालन गरेको अनुगमन टोलीले फेला पारेको छ।

अनुगमनका क्रममा प्रादेशिक अस्पताल भद्रपुर अगाडि रहेका भद्रपुर मेडिकल हल र खरेल फार्मेसी बन्द भेटिएकाले आवश्यक कागजातसहित विभागमा उपस्थित हुन पत्राचार गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।

विभागले औषधि व्यवसायलाई कानुनी मापदण्डभित्र सञ्चालन गराउन यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।