बराहक्षेत्रमा नेपालकै पहिलो व्यावसायिक प्यारामोटर सेवा सञ्चालनको तयारी

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०९:२८

सुनसरी । कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–६ को बोराबाँध (सप्तकोशी नदीको बगर) लाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी तीव्र पारिएको छ। स्थानीय युवा पर्यटन व्यवसायी सुरेन राईको नेतृत्वमा बी.जी. नेपाल एडभेन्चर मार्फत नेपालमै पहिलो पटक व्यावसायिक प्यारामोटर सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो।

करिब २५ बिघा क्षेत्रफलमा फैलिएको बोराबाँधमा एटीभी (ATV) राइड सञ्चालनमा आइसकेको छ। अब त्यससँगै प्यारामोटर सेवा थपेर आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्देशक सुरेन राईले बताएका छन्।

उनका अनुसार हाल दुईवटा एटीभी सञ्चालनमा छन् भने थप दुईवटा आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। एउटा एटीभी खरिद गर्न करिब १२ लाख ५० हजार रुपैयाँ खर्च हुने उनले जानकारी दिए।

बोराबाँध क्षेत्रमा हाल १३ वटा डुङ्गा सञ्चालनमा रहेका छन्। यहाँ पुग्ने पर्यटकले सप्तकोशीको मनोरम दृश्य, सूर्यास्त, दुर्लभ डल्फिन अवलोकन, डुङ्गा सयर, घोडचढी तथा एटीभी राइडको अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।

राईले सरकारले एटीभीलाई विलासी वस्तुको सूचीमा राखेर कर बढाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै पर्यटन क्षेत्रमा लगानी गर्ने युवालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार विदेशबाट अर्डर गरिएको प्यारामोटर काठमाडौंमा प्राविधिक रूपमा एसेम्बल गरी बराहक्षेत्र ल्याइनेछ। आवश्यक सरकारी अनुमति, स्वीकृति तथा लाइसेन्स प्राप्त पाइलटमार्फत मात्र सेवा सञ्चालन गरिने उनले स्पष्ट पारे।

प्रारम्भिक परीक्षण उडान बराहक्षेत्र–६ स्थित बोराबाँधबाट गरिनेछ। करिब एक महिनाको परीक्षणपछि सबै प्रक्रिया पूरा भए आगामी दसैँअघि नै व्यावसायिक रूपमा प्यारामोटर सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

बराहक्षेत्र धार्मिक पर्यटनका लागि परिचित रहे पनि अब साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको र आवश्यक सरकारी सहयोग प्राप्त भए यस क्षेत्रलाई कोशी प्रदेशकै नमुना साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने राईले बताए।