Breaking Nepal

विराटनगर / ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विराटनगरस्थित पुष्पलाल चौकमा आयोजित तीन किलोमिटर मिनी म्याराथन प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पुष्पलाल स्मारक समितिको आयोजनामा तथा पुष्पलाल स्पोर्टिङ क्लबको संयोजनमा सम्पन्न प्रतियोगितामा १९२ जना धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिरेन्द्र चौहानले आठ मिनेटमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । सुशान्त खवासले नौ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हात पारे । यस्तै, प्रवेश निरौला र सुजन गुरुङले समान १० मिनेटमा दूरी पार गर्दै संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगितामा १५ मिनेटभित्र दौड पूरा गर्ने २५ जना धावकलाई ‘फिनिसर मेडल’ प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा अनुभव थापा, अखिलेश कोइराला, सन्तोष निरौला फुयाल, आरुष यादव, विपन तिवारी, मनिष शाह, भुवन चौधरी, प्रमोद पराजुली, सिमन बस्नेत, कल्याण मगर, रोशन कार्की, मौसम राई, आयुष विश्वास, प्रिन्स रेग्मी, आदर्श खाँ, अभिनव कार्की, विक्रम कटवाल, विनायक मगर, सम्पन्न बस्नेत, निमेष निलेश खत्री, सागर शाह, दीपेश थापा, धीरज यादव र सञ्जोग ढुङ्गेल रहेका छन् ।
कार्यक्रम संयोजक सागर थापाका अनुसार प्रतियोगितामा सहभागी सबै धावकलाई सहभागिता प्रमाणपत्र समेत वितरण गरिएको छ ।
प्रतियोगिताको ‘मेडिकल पार्टनर’ का रूपमा विराट मेडिकल कलेज टिचिङ अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । प्रतियोगिताका क्रममा खेलाडीहरूको स्वास्थ्य सुरक्षा, प्राथमिक उपचार तथा आपत्कालीन चिकित्सा सेवाको व्यवस्थापन अस्पतालको चिकित्सकीय टोलीले गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार स्वस्थ जीवनशैली, नियमित व्यायाम र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । साथै, सामाजिक तथा खेलकुद गतिविधिमा स्वास्थ्य संस्थाको सक्रिय सहकार्यले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।