Breaking Nepal

झापा / झापाको बाह्रदशी गाउँपालिका–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरूपाश्रम गुरूकुलमा अध्ययनरत आवासीय बटुकहरूको अध्ययन तथा बसाइलाई सहज बनाउन एभरेष्ट हाईपर मार्केटले दुई थान कुलर सहयोग गरेको छ ।
बाह्रदशी गाउँपालिका–३ राजगढस्थित एभरेष्ट हाईपर मार्केटका सञ्चालक चान मोहम्मदले गर्मीको समयमा आवासीय रूपमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ७० लिटर क्षमताका दुई थान कुलर उपलब्ध गराएका हुन् ।
गुरूकुलमा हाल ५१ जना आवासीय विद्यार्थी अध्ययनरत छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीलाई अध्ययन र दैनिक बसाइमा असहजता भइरहेको जानकारी पाएपछि उनीहरूको लागि शीतल र सहज वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाइएको छ ।
गुरूकुल परिसरमा आयोजित कार्यक्रममा सञ्चालक मोहम्मदले गुरूकुल व्यवस्थापन समिति अध्यक्ष ज्ञानु सुवेदीलाई कुलर हस्तान्तरण गरेका थिए । कार्यक्रममा व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
हाल गुरूकुलमा ५१ जना आवासीय र १० जना गैरआवासीय गरी ६१ जना विद्यार्थी अध्ययनरत छन् । बाह्रदशी गाउँपालिकाको एकमात्र गुरूकुलका रूपमा परिचित यस शिक्षालयमा कक्षा ८ सम्म औपचारिक शिक्षासँगै वैदिक अध्ययन, संस्कृत शिक्षा तथा सनातन कर्मकाण्डसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिँदै आएको छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै दक्ष वैदिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले गुरूकुल सञ्चालन भइरहेको व्यवस्थापन पक्षले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक चान मोहम्मदले कञ्चनगढधाम धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताए । महाभारतकालीन इतिहाससँग जोडिएको विश्वास गरिएको यस क्षेत्रको पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार हुन सके बाह्रदशी गाउँपालिकामात्र होइन, झापाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उनको भनाइ थियो ।
उनले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा गुरूकुलका बटुकहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको अध्ययन वातावरण सहज बनाउन सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि शिक्षा, धर्म र समाजसेवाका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।
गुरूकुल व्यवस्थापन समिति अध्यक्ष ज्ञानु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरूकुलका प्राचार्य मनोज खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन स्थानीय विश्वास गौतमले गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रबाट धार्मिक तथा शैक्षिक संस्थालाई प्राप्त हुने यस्ता सहयोगले विद्यार्थीको अध्ययन वातावरण सुधार्नुका साथै समाजमा सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।