Breaking Nepal

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने श्रीलङ्का भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका छन्। उनी दिउँसो करिब साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
स्वदेश फर्किएलगत्तै प्रचण्डले प्रदेश सरकारको भावी समीकरणबारे नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल गर्ने तयारी गरेका छन्। दुवै नेताको सचिवालयका अनुसार उनीहरूबीच आज वा भोलि भेटवार्ता हुने सम्भावना रहेको छ।
यसअघि प्रचण्ड श्रीलङ्का प्रस्थान गर्नुअघि गत मंगलबार दुई नेताबीच भेटवार्ता भएको थियो। छलफल सकारात्मक भए पनि कुनै अन्तिम निष्कर्षमा पुग्न नसकेपछि पुनः संवाद गर्ने सहमति भएको बताइएको छ।
प्रदेश सरकारको नयाँ समीकरणबारे कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्ने तयारी गरिरहेको छ। त्यसको विकल्पका रूपमा कांग्रेस र नेकपाबीच सहकार्यको सम्भावनामा छलफल भइरहेको स्रोतको भनाइ छ।
कांग्रेस महामन्त्री गुरु घिमिरेका अनुसार एमालेसँगको सहकार्यबारे आन्तरिक छलफल जारी रहे पनि औपचारिक निर्णय हुन बाँकी छ। केन्द्रमा हुने निर्णयअनुसार प्रदेश सरकारहरूको नयाँ समीकरण तय हुने भएकाले प्रदेश नेतृत्व पनि त्यसैको प्रतीक्षामा रहेको बताइएको छ।
यसअघि आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेस सभापति गगन थापाले प्रदेशमा तीनदलीय गठबन्धनलाई निरन्तरता नदिने संकेत गरेका थिए। त्यसपछि कांग्रेस र नेकपाबीच नयाँ सहकार्यको सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा बढेको छ।
नेकपाका प्रतिनिधिसभा सदस्य रमेश मल्लले कांग्रेस–एमालेबीचको दूरी बढेपछि नेकपामाथि राजनीतिक जिम्मेवारी थपिएको बताए। उनले तत्काल सरकारमा सहभागी हुने हतार नरहेको उल्लेख गर्दै विकसित राजनीतिक परिस्थितिअनुसार निर्णय लिइने धारणा व्यक्त गरे।