कांग्रेस सभापति गगनको सन्देश– सत्ताका लागि सिद्धान्त बेच्दैनौं, प्रदेशमा प्रतिपक्षविहीन सरकार स्वीकार्य छैन

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ ११:२६

ललितपुर / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका नाममा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएको बताएका छन् । यस्तो अभ्यासले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने भएकाले कांग्रेसले त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे ।

ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै थापाले सत्ता प्राप्तिका लागि सिद्धान्तमा सम्झौता गर्ने विगतको अभ्यास अब नदोहोरिने बताए ।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार र प्रतिपक्ष दुवैको सशक्त भूमिका अपरिहार्य रहने उल्लेख गर्दै तीन दल मिलेर सरकार गठन गर्नु जनताले दिएको मतादेशको भावना विपरीत हुने धारणा राखे ।

थापाका अनुसार नेपाली कांग्रेसले विगतमा सत्ता केन्द्रित राजनीतिका कारण केही रणनीतिक त्रुटि गरेको स्वीकार गरेको छ । अब भने सरकारमा सहभागी हुने वा सत्ता जोगाउने उद्देश्यभन्दा माथि उठेर लोकतान्त्रिक मूल्य, सिद्धान्त र जनादेशलाई प्राथमिकतामा राख्ने उनले बताए ।

उनले २०७२ सालयता नेपाली राजनीतिमा सत्ता केन्द्रित सोच हाबी हुँदा राजनीतिक स्थायित्व र दलहरूको विश्वसनीयतामा नकारात्मक असर परेको टिप्पणी गरे । सत्ता समीकरणको निरन्तर फेरबदलले दलहरूको वैचारिक पहिचानसमेत कमजोर बनेको उनको भनाइ थियो ।

‘बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल एकाएक सरकारमा सहभागी हुने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको छ,’ थापाले भने, ‘सत्ता नै सबैथोक हो भन्ने मानसिकताका कारण कांग्रेससहित पुराना राजनीतिक दलहरूले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको छ ।’

प्रदेश सरकार गठनबारे विभिन्न तहबाट कांग्रेसको धारणा खोजिएको उल्लेख गर्दै उनले परिणाम जे आए पनि पार्टी सिद्धान्तबाट पछि नहट्ने बताए । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले कांग्रेसले त्यसलाई अस्वीकार गरेको उनको भनाइ थियो ।

थापाले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्कै दलसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिकामै अन्योल सिर्जना गरेको बताए । अबको राजनीति नागरिकको मतादेश, लोकतान्त्रिक मूल्य र राजनीतिक सिद्धान्तको सम्मानका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।