Breaking Nepal

झापा / अनुकूल मनसुनका कारण झापामा यस वर्ष धान रोपाइँले गति लिए पनि रासायनिक मलको चरम अभावले किसानलाई सास्ती दिएको छ । आवश्यक मल समयमा नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार हालसम्म जिल्लामा करिब ६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पर्याप्त वर्षा र अधिकांश क्षेत्रमा सिँचाइको समस्या नदेखिएकाले किसानले रोपाइँलाई तीव्रता दिएका छन् । रोपाइँको अन्तिम चरणसम्म अधिकांश क्षेत्रमा धान खेती सम्पन्न हुने अपेक्षा गरिएको छ ।
तर, मल आपूर्तिमा देखिएको ठूलो असन्तुलनले किसानको चिन्ता बढाएको छ । झापामा धान खेतीका लागि १३ देखि १४ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भए पनि वैशाखयता दुई हजार चार सय मेट्रिक टन मात्रै आपूर्ति भएको छ । त्यसैगरी आठ हजार मेट्रिक टन डीएपी आवश्यक रहेकामा हालसम्म करिब दुई हजार पाँच सय मेट्रिक टन मात्र उपलब्ध भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
माग र आपूर्तिबीचको ठूलो अन्तरका कारण किसानले आवश्यक समयमा मल पाउन नसकेको विष्टले बताए । उनले सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको र उपलब्ध हुनेबित्तिकै किसानलाई वितरण गरिने जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडका प्रमुख विष्णु न्यौपानेका अनुसार ५० केजी युरिया मलको आधार मूल्य ८०८ रुपैयाँ ५० पैसा तोकिएको छ । स्थानीय तहले ढुवानी खर्चका आधारमा खुद्रा बिक्री मूल्य निर्धारण गर्दै आएका छन् ।
उनले तोकिएको मूल्यभन्दा बढीमा मल बिक्री गरेको पाइए कानुनी कारबाही गरिने बताए । मल वितरणलाई पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय झापाले निगरानी कडा बनाएको पनि उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा रहेको जिल्ला रासायनिक मल व्यवस्थापन तथा अनुगमन समितिले सहकारीमार्फत हुने वितरणलाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । अब किसानको नाम, मोबाइल नम्बर, खेतीयोग्य क्षेत्रफल, खरिद गरिएको मलको परिमाण तथा बिल विवरण अनलाइन अभिलेखमा राखिएपछि मात्रै पुनः मल उपलब्ध गराइने व्यवस्था लागू गरिएको छ ।
न्यौपानेका अनुसार बुद्धशान्ति, अर्जुनधारा, कचनकवल, कनकाई, कमल, दमक, गौरादह र गौरीगञ्जले आफ्नो कोटाअनुसारको मल प्राप्त गरिसकेका छन् । मेचीनगर, बिर्तामोड, हल्दीबारी, झापा गाउँपालिका, भद्रपुर र शिवसताक्षीमा भने केही परिमाण अझै ढुवानीको क्रममा रहेको छ ।
झापा गाउँपालिका–७ डाँगीबारीकी किसान दिलकुमारी मिश्रले रोपाइँका बेला आवश्यक पर्ने डीएपी मल सहज रूपमा नपाएको गुनासो गरिन् । सरकारी वितरण प्रणालीबाट मल नपाएपछि निजी बजारमा महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
कृषि ज्ञान केन्द्रका अनुसार झापामा कुल ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर, एक दशकअघि ८७ हजार ५ सय हेक्टरमा हुने धान खेती अहिले घटेर ७५ हजार ४ सय ५९ हेक्टरमा सीमित भएको छ । यस अवधिमा जिल्लाले करिब १२ हजार हेक्टर खेतीयोग्य जमिन गुमाइसकेको तथ्यांक छ ।
विष्टका अनुसार अव्यवस्थित कित्ताकाट, तीव्र सहरीकरण, आवास विस्तार तथा औद्योगिक प्रयोजनका लागि कृषि जमिनको प्रयोग बढ्दै जाँदा खेतीयोग्य क्षेत्र निरन्तर खुम्चिएको हो । उत्पादनशील जमिन घट्दै जानु र मल अभाव लम्बिनुले भविष्यमा खाद्यान्न उत्पादन तथा खाद्य सुरक्षामा गम्भीर चुनौती थपिने उनले चेतावनी दिए ।
उनले सरकारले तत्काल रासायनिक मलको आपूर्ति सहज बनाउनुपर्ने, साथै खेतीयोग्य जमिन संरक्षण गर्ने दीर्घकालीन नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।