Breaking Nepal

झापा / झापाको बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलले विद्यालय शिक्षालाई अत्याधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
करिब ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ‘एरो बे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराई प्रमुख अतिथि थिए ।
विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार प्रयोगशालाले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीईएम) शिक्षासँग व्यावहारिक रूपमा जोड्दै अनुसन्धान, सिर्जनशीलता तथा नवप्रवर्तनको क्षमता विकास गर्न सहयोग पुर्याउनेछ ।
उनका अनुसार विश्वभर तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स र कृत्रिम बुद्धिमत्ताको ज्ञान विद्यालय तहदेखि नै विद्यार्थीमा विकास गर्ने लक्ष्यसहित प्रयोगशाला स्थापना गरिएको हो ।
विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामार्फत विद्यार्थीले रोबोट निर्माण, कोडिङ, कृत्रिम बुद्धिमत्ता, डिजाइन थिंकिङ, स्वचालन प्रविधि तथा समस्या समाधानका व्यावहारिक सीप सिक्ने बताए । तहअनुसार विभिन्न परियोजनामा सहभागी गराइने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
समारोहलाई सम्बोधन गर्दै संस्थापक बस्नेतले वर्तमान शिक्षा प्रणाली पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने बताए । भविष्यको प्रतिस्पर्धात्मक वातावरणमा सफल हुन विद्यार्थीलाई अनुसन्धानमुखी, सिर्जनशील र प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले प्रयोगशालालाई विद्यार्थीको कल्पनाशक्ति र नवप्रवर्तनलाई व्यवहारमा रूपान्तरण गर्ने केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्दै अबका विद्यार्थी प्रविधिको प्रयोगकर्तामात्र नभई नयाँ प्रविधि सिर्जना गर्ने क्षमतासमेत विकास गर्नुपर्ने धारणा राखे ।
प्रमुख अतिथि डा. भट्टराईले विद्यालयले आधुनिक शिक्षामा गरेको लगानीले सिकाइ उपलब्धि थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रविधिमैत्री शिक्षामार्फत अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण निर्माण गर्ने विद्यालयको प्रयास प्रशंसनीय रहेको उनले बताए ।
विद्यालयका अनुसार प्रयोगशालामा रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता तथा स्वचालित प्रणालीसँग सम्बन्धित परियोजनामा विद्यार्थीलाई सहभागी गराइनेछ । यसबाट आलोचनात्मक सोच, नेतृत्व क्षमता, समूहमा काम गर्ने संस्कार र नवप्रवर्तनमुखी दृष्टिकोण विकास हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो । समारोहका अवसरमा ‘एरो बे रोबोटिक्स’ अन्तर्गत एरोप्लेनदेखि रकेटसम्मका प्रयोगात्मक उडान प्रदर्शन गरिएको थियो । प्रदर्शनमार्फत विद्यार्थी र अभिभावकलाई आधुनिक प्रविधिको व्यावहारिक प्रयोगबारे जानकारी गराइएको विद्यालयले जनाएको छ ।
विद्यालयले आगामी दिनमा प्रविधिमैत्री शिक्षालाई थप विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रमको सञ्चालन शिक्षक अश्विनी प्रधानले गरेकी थिइन् ।