Breaking Nepal

अमेरिका / गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको आयोजनामा न्यूयोर्कको क्वीन्स ब्रिज पार्कमा भव्य बनभोज तथा आपसी भेटघाट, सौहार्दता आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सभ्य र सफल रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाली समुदायका साथै बहुसांस्कृतिक समुदायको समेत उल्लेखनीय उपस्थिति रहने गरी सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्यूयोर्क सिटीका कम्प्ट्रोलर थोमस डी. नपोली रहेका थिए । उनले नेपाली समुदायसँग नजिकबाट भेटघाट र सम्बन्ध विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै फाउन्डेशनलाई धन्यवाद दिए। उनले नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
कार्यक्रममा न्यूयोर्क राज्यकी एसेम्ब्ली सदस्य जेनिफर राजकुमार, स्टेफन रागा, सिटी काउन्सिल सदस्य शेखर कृष्णन, न्यायाधीश सोमा सायद, इभ ग्लोरिगन, थोमस राइट्स, संयुक्त राष्ट्रसंघकी युवा राजदूत डा. उज्मा गुल, स्पेनी शिक्षाविद् आन्द्रेया वेन, वैज्ञानिक डा. लियोगं यिंगलगायत अमेरिका, स्पेन, बंगलादेश, चीन, भारत, गयाना, लेटिनो अमेरिकी समुदायका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वमेयर तथा नेपाली कांग्रेसका युवा नेता लेखनाथ पोखरेल, एनआरएन अमेरिका उपाध्यक्ष आङछिरिङ शेर्पा, मीन खड्का, बोर्ड सदस्य लक्ष्मी कार्की, एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष वासु लामीछाने, तमु सोसाइटी अध्यक्ष वीन घले, मिस नेपाल नर्थ अमेरिका २०२५ की विजेता दिया श्रेष्ठ, तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चिनियाँ समुदायबाट प्रस्तुत गरिएको सांस्कृतिक नृत्य र नेपाली कलाकार महादेव त्रिपाठी तथा वरिष्ठ कोरियोग्राफर शिव विकको संयोजनमा सुप्रसिद्ध कलाकार दिनेश सुनारको समूहद्वारा प्रस्तुत नृत्यहरुले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रम सञ्चालन फाउन्डेशन अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए । उनले सम्बोधनमा गिरीजाप्रसाद कोईरालाको भनाइ “सहमति, सहकार्य र एकता” लाई स्मरण गर्दै आजको समयमा अझै सशक्त रूपमा लागू गर्नुपर्ने बताए ।
उनले फाउन्डेशनले सन् २०१९ देखि अमेरिका प्रवासमा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिए।
कार्यक्रममा विभिन्न समुदायबाट स्वयंसेवकहरूलाई न्यूयोर्क राज्यका सेनेटर माईकल ज्यानेरिसको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम व्यवस्थापनमा अध्यक्ष घिमिरेसहित उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष रेखा श्रेष्ठ, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू सूर्य सिंखडा, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुव कुँवर क्षेत्री, पासाङ गोपर्मा, फुडोमा शेर्पा, हीरा तामाङलगायतको सक्रिय भूमिका रहेको थियो ।
बनभोजपछि फाउन्डेशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत नेपाली कांग्रेसका युवा नेताहरू मनोजमणि आचार्य र लेखनाथ पोखरेललाई खादालगाई सम्मान गरिएको थियो । त्यही अवसरमा अमेरिका र नेपालबीचको सम्बन्ध, प्रवासी नेपालीका समस्या, समसामयिक राजनीति, सामाजिक तथा आर्थिक विकासका चुनौतीबारे गहन छलफल गरिएको थियो ।
कार्यक्रमको साउण्ड सिस्टम डीजे एलएस जगम्बु शेर्पाले व्यवस्थापन गरेका थिए । खाना तथा पेय पदार्थहरूका लागि सनराइज रेस्टुरेन्ट, टेस्ट अफ नेपाल र नेपाली मसम फ्याफेले प्रायोजन गरेका थिए भने, नेपाल ज्वेलरी एन्ड रिपेयर इंकले कार्यक्रमलाई सहयोग गरेको थियो ।