Breaking Nepal

रातको चिसो हावा घर फर्कँदा अझ चिसो लाग्दो रहेछ जब हृदयमा निराशा गढेको हुन्छ। बिहानको चार बजिसकेको थियो, साल्ज़बर्गको शान्त शहर निदाएको थियो, तर म भने एक अनिदो शरीर र भारी मन लिएर मात्र घर फर्किएँ । निद्रा त के लाग्थ्यो र! मस्तिष्कमा घुमिरहेको थियो त्यो अन्तिम म्याचको प्रत्येक पल – ती तीन म्याच प्वाइन्टहरू, त्यो १४-११ को अग्रता… र त्यो अन्त्य जसले सुनौलो सपना भताभुङ्ग बनायो ।
हिजोको त्यो क्वार्टरफाइनल – जसमा हामीले पहिलो सेट सहजै २१-१० ले हात पार्यौं, दोस्रोमा १९-२१ को सानो गल्तीले पछि पर्यौं, र अन्तिम सेटमा १४-११ को अवस्थामा म्याच जित्ने तीनवटा अवसर हुँदा हुँदै पनि हार्नुपरेको त्यो क्षण — केवल खेलको हार थिएन, त्यो हामी सबैको महिनौंको परिश्रम, समर्पण र विश्वासमाथि परेको गहिरो चोट थियो ।
पराजित भएपछि एनईएससीका अध्यक्ष दिलकुमार घमाल, प्रशिक्षक र खेलाडी साथीहरुको अनुहार हेरें । सबैंको अनुहारमा निराशा झल्किन्थ्यो । किनभने हामी उपाधि नजिक पुगेर खाली हात फर्किन बाध्य भयौं । त्यति ठूलो अवसर नजिक पुगेर पराजित हुनुपर्दाको पीडा निकै ठूलो हुँदोरहेछ ।
एनईएससी : खेलको माध्यमबाट राष्ट्रको पहिचान निर्माण गर्दै
नेपाली स्पोर्ट्स कम्युनिटी (एनईएससी) को विगत पनि यस्तै उतार-चढावले भरिएको छ । हामीले कहिले इटाली, कहिले अष्ट्रिया, कहिले जर्मनीमा नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उतार्ने काम गरेका छौं। युरोपमा रहेका नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता र सम्मानको सेतु निर्माण गर्ने यो प्रयास केवल प्रतियोगिता जित्ने मात्रै होइन — यो नेपालीपनलाई विश्व सामु चिनाउने अभियान हो ।
एनईएससीले भलिबल, फुटबल, ब्याडमिन्टनजस्ता विभिन्न खेलमा नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय प्लेटफर्म दिएको छ । स्वयम्सेवकहरूको निःस्वार्थ योगदान, सीमित स्रोतसाधनमा समेत प्रदर्शनमा गरिएको उत्कृष्टता र ‘हामी सक्छौं’ भन्ने आत्मबलले हामीलाई सधैं अगाडि बढाइरहेको छ ।
सुनौलो अवसरको चुक – हार होइन, शिक्षा हो
यस प्रतियोगितामा हामीले देखाएको प्रदर्शनले केवल हार मात्रै होइन, भविष्यका लागि अमूल्य पाठ पनि दिएको छ । जब सेमीफाइनलमा कमजोर टिम थियो, तब त्यो हारको पीडाले अझै पोल्यो – किनभने त्यो त अवसर थियो, जुन हामी आँखा अगाडि देखेर गुमायौं। त्यो स्वर्ण पदक, त्यो ट्रफी, त्यो राष्ट्रियता गुञ्जाउने क्षण — ती सबै अब सम्झनाका मात्र वस्तु भए ।
तर, यही क्षणहरूले भविष्य बनाउँछ। यही चोटले अर्को खेलमा चस्स चोट पुर्याउने आत्मबल निर्माण गर्छ। हामी हारेर लडेका होइनौं, हामी अन्तिम क्षणसम्म संघर्ष गरेर सिकेका छौं ।
अबको बाटो : प्रतिबद्धता, सुधार र पुनःउदय
एनईएससी अब यो हारलाई अवसरमा रूपान्तरण गर्दै, अझ बलियो तयारी, मनोवैज्ञानिक प्रशिक्षण, रणनीतिमा सुधार, र फिजिकल फिटनेसमा नयाँ सोच ल्याउँदै अघि बढ्नेछ। हामी बुझ्छौं — खेल मैदानमा जित एक दिनको काम होइन; त्यो दिन-रातको अनुशासन, आत्मबल र निरन्तरताको परिणाम हो।
अब हामी नतिजाको होइन, प्रक्रियाको पुनरावलोकन गर्छौं । हामी टीमको मनोबल बलियो बनाउँछौं। हामी अभ्यासलाई युद्धस्तरमा लैजान्छौं। हामी हाम्रो कमजोरीलाई शक्ति बनाउँछौं ।
सपना तुट्यो, तर आशा बाँकी छ
साल्ज़बर्गको ती रातमा हामी हारेर फर्कियौं होला, तर त्यो पीडाबाट हामीले जुन भावना संकलन गरेका छौं, त्यो भावनाले हामीलाई अर्को प्रतियोगितामा जित्न प्रेरित गर्नेछ। हाम्रो टीमले जुन जुझारूपन देखायो, जुन समर्पण, जुन एकता देखायो — त्यो नै हाम्रो साँचो जीत हो ।
सपना आज त टुट्यो होला, तर विश्वास छ — भोलिको बिहानमा त्यो नै सुनौलो सफलताको बीउ बन्नेछ ।