इजरायली सेनाले पुष्टि गर्‍यो– हमासले अपहरण गरेका नेपाली विपीन जोशी अब जीवित छैनन्

Breaking Nepal

सोमबार ,आश्विन २७ , २०८२ ११:४८

काठमाडौं /  हमासको नियन्त्रणमा परेका नेपाली नागरिक विपीन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ ।

इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले भिडियो कन्फ्रेन्समार्फत विपीनको परिवारलाई जानकारी दिएको हो ।
“इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो,” राजदूत पण्डितले भने, “तर उनको शव रहे–नरहेको यकिन भइसकेको छैन ।”

राजदूतका अनुसार इजरायलमा रहेका जीवित बन्धकहरूलाई आज (सोमबार) साँझभित्र छोडिने तयारी भइरहेको छ । त्यही क्रममा केही मृतकहरूको शव पनि हमासले हस्तान्तरण गर्ने जानकारी प्राप्त भएको उनले बताए । बाँकी शवहरूको खोजीका लागि संयुक्त टास्क फोर्सले आगामी दिनहरूमा अभियान सञ्चालन गर्ने बताइएको छ ।

विपीन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनलाई २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो ।

विपीनको निधनको खबरले उनको परिवार, साथीभाइ र सम्पूर्ण नेपाली समुदायमा गहिरो दुःख र शोक छाएको छ । नेपाल सरकारले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विपीनसहितका अन्य बन्धकहरूको अवस्था स्पष्ट पार्न इजरायली पक्षसँग समन्वय जारी राखेको बताइएको छ ।