विराट मेडिकलमा ५० भन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण पारिवारिक वातावरण र समयमै तलब

Breaking Nepal

बुधबार ,कार्तिक १९ , २०८२ १४:४९

विराटनगर / मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत वर्ष २०८१ असोज १० गते एकैपटक एक हजार नर्स भर्नाका लागि आवेदन आह्वान गरेको थियो । उत्कृष्ट सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब र पाँच वर्षे सम्झौताको प्रस्ताव गरे पनि अन्ततः केवल १० जनाले मात्रै सम्झौता गरी काम सुरु गरेका छन् ।

हस्पिटल प्रशासनका अनुसार स्वास्थ्य क्षेत्रमै नर्सिङ जनशक्ति अभाव बढ्दो क्रममा रहेकाले लामो अवधिका लागि योग्य नर्स भर्ना गर्न कठिनाइ भइरहेको छ । हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले भने, “हाल नेपालभरका अस्पतालहरूमा नर्सिङ जनशक्ति व्यवस्थापन चुनौती बनेको छ । सेवा विस्तारका लागि पर्याप्त नर्स नहुँदा अस्पताल सञ्चालनमै दबाब परेको छ ।”

५० भन्दा बढी नर्स १० वर्षदेखि कार्यरत

विराट मेडिकलमा भने ५ देखि १० वर्षभन्दा बढी समयदेखि कार्यरत नर्सहरूको संख्या ५० भन्दा बढी रहेको छ । यी पुराना नर्सहरूले काम गर्ने वातावरण, सुविधा र व्यवस्थापकीय व्यवहारप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

इमर्जेन्सी विभागमा १० वर्षदेखि कार्यरत प्रवीण कुमार यादव भन्छन्, “मैले परिवारको उपचार यहीँ गराउँदा सन्तुष्ट भएकोले पढाइपछि यहीँ काम गर्ने निर्णय गरेको हुँ । यहाँ पारिवारिक वातावरण छ र अन्य अस्पतालभन्दा राम्रो व्यवस्था पाइन्छ ।”

त्यस्तै, शल्यक्रिया कक्षका अमरेन्द्र कर्णले भने, “हस्पिटलले कर्मचारीलाई राम्रो सुविधा दिएको छ । मेरो घर विराटनगरमै भएकाले घर नजिकै काम गर्न सहज भएको छ ।”

पोस्ट–नेटल वार्डकी इन्दिरा परियार, जो पाँच वर्षदेखि काम गर्दै आएकी छन्, भन्छिन्, “यहाँ समयमै तलब आउँछ । अरू अस्पतालमा दुई–तीन महिनामा एकपटक तलब आउने कुरा सुन्छु। पारिवारिक माहोल भएकाले यहाँ काम गर्न रमाइलो लाग्छ।”

डायलाइसिस वार्डकी रञ्जना दर्जीले भने मेट्रोन आएपछि सबै नर्सको सीप र क्षमताअनुसार तलब तोकिने व्यवस्था गरिएको बताइन् । उनले भनिन्, “अर्का अस्पतालहरूभन्दा यहाँ सेवा र सुविधा राम्रो भएकोले म यहीँ निरन्तर काम गर्दै आएकी छु ।”

नयाँ सम्झौतामा काम गर्ने नर्स पनि सन्तुष्ट

हालै ५ वर्षे सम्झौतामा काम गर्न सुरु गरेकी स्टाफ नर्स संगिता पौडेलले भने, “अरू अस्पतालमा लामो समय काम गर्दा पनि कम आम्दानी हुने भएकाले मैले यहाँ सम्झौता गरेकी हुँ । ४५ हजार रुपैयाँ तलबबाट सुरु गरेकी छु र अहिले पाउँदा खुसी छु ।”

त्यस्तै, डायलाइसिस वार्डकी गोमा श्रेष्ठले पनि सम्झौता प्रणालीले आफूलाई फाइदा पुर्‍याएको बताइन् । “मैले कामअनुसारको तलब पाएकी छु । मेरो रोजगारी सुनिश्चित छ । हस्पिटलले सीप अभिवृद्धिका लागि समय–समयमा तालिमहरू पनि सञ्चालन गर्छ,” उनले भनिन् ।

नर्सहरूको अनुभव सकारात्मक

हाल देशभर नर्सिङ जनशक्ति अभावकै चर्चा भइरहेका बेला विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा भने पुराना नर्सहरूको अनुभव सकारात्मक छ । धेरैले पारिवारिक वातावरण, समयमै तलब, सीपअनुसारको मूल्याङ्कन र प्रशिक्षणको अवसरलाई सन्तुष्टिको मुख्य कारण बताइरहेका छन् ।