नियमविपरीत सञ्चालित विराटनगरका दुई फार्मेसीमा औषधि व्यवस्था विभागद्वारा शिलबन्दी

Breaking Nepal

सोमबार ,मंसिर ८ , २०८२ २०:१८

विराटनगर / औषधि व्यवस्था विभाग विराटनगरले सोमबार गरेको नियमित बजार अनुगमनमा कागजातविहीन रूपमा सञ्चालन हुँदै आएका दुई फार्मेसी सिलबन्दी गरिएको छ ।

विराटनगर–९ र १० का १२ वटा फार्मेसीमा गरिएको आकस्मिक अनुगमनका क्रममा नियमविपरीत व्यापार गरेको पाइएपछि विभागले ‘ज्ञानु फार्मेसी’ र ‘फेसबुक फार्मेसी’मा सिलबन्दी गरेको हो।

अनुगमन टोलीका अनुसार दुवै फार्मेसीले विभागले तोकेको कागजात नदेखाउनुका साथै नियमनविपरीत औषधि बिक्री–वितरण गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम पैदा गरेको भेटिएको थियो । औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सन्देश पौडेलले कागजात अभाव र अवैध औषधि बिक्रीका कारण कानुनी प्रक्रियाअनुसार सिलबन्दी गर्नु परेको बताए ।

फार्मेसीबाट भेटिएका अनियमित औषधि र कागजात विभागले नियन्त्रणमा लिएको छ । दुवै फार्मेसीका सञ्चालकलाई स्पष्टीकरण दिन तथा थप अनुसन्धानका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले यसअघि पनि विराटनगरका विभिन्न स्थानमा अनुगमन गर्दै विधि–विपरीत सञ्चालनमा आएका फार्मेसीलाई कानुनी दायरामा ल्याउँदै आएको छ । विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई सर्वोपरी मान्दै अनियमितता देखिएका व्यवसायमाथि निरन्तर कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।